नेपालको इतिहासमा एउटा भनाइ बारम्बार दोहोरिन्छ—‘सतीले सरापेको देश।’ देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरूले नै उपेक्षा, षड्यन्त्र र दुःखद नियति भोगेका अनेक प्रसंग इतिहासमा भेटिन्छन्। यही विडम्बनाको एउटा बिर्सिएको अध्याय हुन्—सुर्खेतका दलवीर सिंह सुनार।
आजभन्दा करिब पाँच दशकअघि सुर्खेतको विकास र पूर्वाधार निर्माणमा असाधारण योगदान दिएका दलवीरको मृत्यु रहस्यमय परिस्थितिमा भयो। उनको योगदानको चर्चा विस्तारै हराउँदै गयो। तर उनले आफ्नै सीप, अनुभव र सिर्जनशीलताबाट निर्माण गरेका पुल, उपकरण र पूर्वाधारका कामले सुर्खेतको विकास यात्रामा महत्वपूर्ण छाप छाडेका छन्।
औपचारिक शिक्षा थोरै, प्रतिभा असाधारण
वि.सं. १९७८ सालमा दैलेखको रतीखोलामा जन्मिएका दलवीर सिंह सुनार औपचारिक रूपमा धेरै पढेका थिएनन्। उनी करिब तीन कक्षासम्म मात्रै अध्ययन गरेका थिए। तर औपचारिक शिक्षाको सीमाले उनको प्रतिभालाई रोक्न सकेन।
बुबासँगै दैलेखबाट सुर्खेत आएका दलवीरले आरनको कामबाट आफ्नो जीवन सुरु गरे। फलामका औजार बनाउने क्रममा उनले आफ्नो सीपलाई निरन्तर विस्तार गर्दै लगे। गाउँघरमा आवश्यक बाउसो, कोदालो र हँसियादेखि लिएर जटिल उपकरणसम्म बनाउन सक्ने उनको क्षमता थियो।
समस्या देखेपछि त्यसको समाधान आफैं खोज्ने उनको स्वभाव थियो। यही सिर्जनशीलताले उनलाई सामान्य आरन व्यवसायीबाट बहुप्रतिभाशाली स्थानीय आविष्कारकका रूपमा स्थापित गर्यो।
भेरीमाथि पुल बनाउने सपना
वर्षायाममा भेरी नदीमा आउने उर्लंदो भेल र त्यसका कारण स्थानीय बासिन्दाले भोग्नुपरेको कठिनाइ उनले नजिकबाट देखेका थिए। त्यसैले करिब वि.सं. २०१९ सालतिर उनले भेरी नदीमा झोलुङ्गे पुल बनाउने योजना बनाए।
आर्थिक स्रोत र प्राविधिक सहयोगको अभावमा पनि उनले आफ्नै सीप प्रयोग गरे। लामो फलामे साङ्ला, तार तथा अन्य सामग्री आफैं तयार पारे। स्थानीय बासिन्दाले पनि खाँबो गाड्ने र पुललाई बलियो बनाउन सहयोग गरे। काठका फल्याक राखेर मानिस हिँड्न मिल्ने पुल तयार गरियो।
सुर्खेतको रानीघाटमा पुल बनाएपछि उनले उत्तरगंगास्थित भेरी नदीमा करिब ४३५ फिट लामो झोलुङ्गे पुल निर्माण गरे। त्यसपछि रामघाट र चिगाड खोलालगायतका स्थानमा पनि पुल निर्माण गरे।
यी पुलहरूले स्थानीय बासिन्दाको आवतजावत सहज बनाए। पुल निर्माणको काम उनको परिचय मात्रै बनेन, उनको प्रतिभालाई व्यापक रूपमा चिनाउने आधार पनि बन्यो।
आफ्नै दिमागले बनाए सुर्खेत विमानस्थलको रोलर
वि.सं. २०२० सालतिर तत्कालीन राजा महेन्द्रको सुर्खेत भ्रमणको तयारी भयो। सडक सञ्जालले नजोडिएको सुर्खेतमा विमानस्थल निर्माणको काम अघि बढाइयो। जमिन सम्याउन आवश्यक रोड रोलर ल्याउने अवस्था थिएन।
त्यसपछि दलवीरले आफ्नै तरिकाले समाधान खोजे।
मोटो सिमलको मुढालाई प्रयोग गरेर मानिसले तान्न र त्यसमा तौल थप्न मिल्ने गरी उनले रोलर बनाए। त्यसबाट विमानस्थलको जमिन सम्याउने काममा सहयोग पुग्यो। स्थानीय स्रोत र साधनको प्रयोग गरेर तयार गरिएको उक्त उपकरण लामो समयसम्म सैनिक गुल्मले सुरक्षित राखेको बताइन्छ।
विमानस्थल निर्माणमा माटो ओसार्नसमेत स्थानीय स्रोतको प्रयोग गरिएको थियो। भैँसीको छाला सिलाएर बनाइएका ठूला थैलामा माटो ओसार्ने काम गरिएको थियो।
राजा महेन्द्रको नजरमा परे
दलवीरले बनाएका पुल, रोलर र अन्य कामबारे सुर्खेतस्थित सैनिक अधिकारीले राजा महेन्द्रलाई जानकारी गराए। असाधारण प्रतिभा भएका स्थानीय व्यक्तिका रूपमा राजाले दलवीरलाई भेट्न बोलाए।
राजासँगको भेटमा उनले ४ सय रुपैयाँ बख्सिस पाए। त्यस भेटपछि उनको आत्मविश्वास अझ बढ्यो।
उनको प्रतिभा र लगनशीलताबाट प्रभावित राजा महेन्द्रले उनलाई सुर्खेतको विकासमा काम गर्न सक्ने भन्दै जिल्ला पञ्चायतमा जागिर लगाइदिएको उल्लेख छ। औपचारिक रूपमा इन्जिनियरिङ शिक्षा नलिएका दलवीरलाई उनको अनुभव र सीपका आधारमा सब–ओभरसियरको जिम्मेवारी दिइयो।
पुलदेखि सडकको रेखांकनसम्म
सरकारी जिम्मेवारी पाएपछि दलवीरको कार्यक्षेत्र अझ फराकिलो भयो। अमेरिकी पिसकोर स्वयंसेवक एलेन फेयरबैंकसँग मिलेर उनले दैलेखका विभिन्न खोलामा झोलुङ्गे पुल निर्माणको काममा योगदान दिए।
ढुङ्गेश्वर खोलाको पुल, चुप्राको लोहोरे खोलाको पुल, छामघाट खोलाको शिरस्थान तथा अन्य स्थानमा बनेका झोलुङ्गे पुलमा उनको प्रत्यक्ष संलग्नता रहेको सामग्रीमा उल्लेख छ।
उनकै निगरानीमा सुर्खेतदेखि दैलेख हुँदै जुम्लासम्मको मोटर बाटोको रेखांकन भएको र सुर्खेत–नेपालगञ्ज सडकको रेखांकनमा समेत उनले काम गरेको उल्लेख छ।
टाइपराइटरदेखि हेलिकोप्टरसम्म
दलवीरको प्रतिभा पुल र सडक निर्माणमा मात्र सीमित थिएन। फलामका सामान, सुनका गहना, बन्दुक, टाइपराइटर, पेट्रोमेक्स, घडी, रेडियो र सञ्चार उपकरणसम्म मर्मत गर्न सक्ने उनको क्षमता रहेको विवरणमा उल्लेख छ।
एकपटक अमेरिकी पिसकोर स्वयंसेवक एलेनको टाइपराइटर बिग्रियो। दलवीरले परीक्षण गर्दा त्यसको एउटा दाँत भाँचिएको पत्ता लगाए। आरनमा गएर उस्तै दाँत बनाएर टाइपराइटरमा जडान गरेपछि त्यो फेरि चल्यो।
अर्को घटनामा दैलेखको ताराघाटमा पुगेको सेनाको हेलिकोप्टर बिग्रिएर उड्न नसकेपछि दलवीरलाई बोलाइएको थियो। दुर्गम स्थानमा आवश्यक प्राविधिक जनशक्ति उपलब्ध नभएको अवस्थामा उनले हेलिकोप्टर सञ्चालनमा ल्याएको विवरण पाइन्छ। त्यसपछि सैनिक गुल्मभित्र उनको परिचय ‘हेलिकोप्टरसमेत बनाउन सक्ने दलवीर’का रूपमा स्थापित भएको बताइन्छ।
सुर्खेतको इत्राम खोलामा पानीबाट चल्ने मिल निर्माण गरी सञ्चालन गरेर देखाएको प्रसंगले उनको प्रयोगशीलता अझ स्पष्ट पार्छ।
विदेशी प्राविधिकका लागि पनि प्रेरणा
सुर्खेतमा चार वर्ष दलवीरसँग काम गरेका अमेरिकी नागरिक एलेन फेयरबैंक उनको क्षमताबाट प्रभावित भएको विवरणमा उल्लेख छ। दलवीरकी श्रीमती मोतीसरालाई एलेनले दिदी मानेका थिए।
एलेनले पिसकोरको तालिमपछि पनि दुईपटक नेपाल आएर सुर्खेतस्थित मोतीसराको घरमा बसेको र उनीहरूको पारिवारिक सम्बन्ध कायम रहेको प्रसंगले दलवीरको मानवीय पक्षलाई पनि उजागर गर्छ।
राजालाई उपहार बनाउने जिम्मेवारी
राजा वीरेन्द्रको पश्चिम नेपाल भ्रमणका क्रममा सुर्खेतमा हुने स्वागतको तयारीमा पनि दलवीरको प्रतिभा उपयोग गरियो। तत्कालीन सैनिक अधिकारी आदित्यशम्शेर जबराले स्वागतद्वार, स्वागत मञ्च र राजालाई चढाइने उपहार निर्माणको जिम्मेवारी उनलाई दिएका थिए।
दलवीरले करिब तीन महिना लगाएर राजाका लागि विशेष उपहार तयार पारे। राजाको भ्रमणपछि उनले बख्सिस पाए भने उनका छोरा श्यामलाललाई नेपाली सेनामा भर्ना गराउने अवसरसमेत मिल्यो।
तर परिवारका लागि खुसीको त्यो क्षण धेरै लामो टिकेन।
५२ वर्षमै रहस्यमय मृत्यु
वि.सं. २०३० साल वैशाखमा दलवीर सरकारी कामकै सिलसिलामा सुर्खेतको बादेपिपल पुगेका थिए। त्यहाँ भेरी नदीमाथि झोलुङ्गे पुल निर्माणको काममा खटिएका उनी वैशाख १९ गते राति सुते।
भोलिपल्ट बिहान उनी ओछ्यानमा भेटिएनन्। खोजी गर्दै जाँदा बादेपिपलस्थित वागेश्वरी विद्यालयनजिकको चौतारोमा उनको शव झुण्डिएको अवस्थामा फेला परेको थियो।
घटनापछि धेरैले उनको मृत्यु आत्महत्या नभई हत्या भएको आशंका गरेका थिए। तर पर्याप्त प्रमाण नपाइएको भन्दै घटनाको गहिरो छानबिन हुन सकेन। अन्ततः उनको मृत्यु आत्महत्याका रूपमा टुंगियो।
उनको मृत्युको कारणबारे आज पनि प्रश्नहरू बाँकी छन्।
यसअघि सुर्खेत–नेपालगञ्ज सडकको रेखांकनका विषयमा केही व्यक्तिसँग उनको विवाद भएको र आफ्नो स्वार्थअनुकूल रेखांकन परिवर्तन गर्न दिइएको दबाब उनले अस्वीकार गरेको प्रसंगसमेत सामग्रीमा उल्लेख छ। त्यसको केही समयपछि उनको शव झुण्डिएको अवस्थामा भेटिएको थियो।

राजाको आदेश पनि कार्यान्वयन भएन
दलवीरको मृत्यु भएपछि परिवार झन् ठूलो संकटमा पर्यो। पक्की घर थिएन, पर्याप्त जग्गा थिएन। परिवारको गुजारा पनि कठिन थियो।
त्यसपछि उनकी श्रीमती मोतीसराले अरूको सहयोगमा राजा वीरेन्द्रसमक्ष बिन्तीपत्र पठाइन्। त्यसको जवाफमा दलवीरको परिवारलाई निःशुल्क घडेरी र घर बनाउन खर्च उपलब्ध गराउन आदेश भएको विवरणमा उल्लेख छ।
तर त्यो आदेश कार्यान्वयन भएन ।
तत्कालीन प्रशासनिक अधिकारी र जिल्ला पञ्चायतका पदाधिकारीसमक्ष आदेश पुगे पनि परिवारले न घडेरी पायो, न घर बनाउन रकम। अशिक्षित मोतीसरालाई कागजमा ल्याप्चे लगाउन लगाइएको र रकम वा घडेरीको विषयमा परिवारले वास्तविक लाभ पाउन नसकेको आरोपसमेत सामग्रीमा छ।
मोतीसराले कठिन परिस्थितिमै छोराछोरी हुर्काइन्। २०५९ सालमा उनको पनि निधन भयो।
इतिहासले बिर्सिएको एउटा नाम
आज दलवीर सिंह सुनारका धेरै सन्तान यो संसारमा छैनन्। बाँचेका परिवारका सदस्य र नातिनातिनासम्म आइपुग्दा उनको योगदानको प्रत्यक्ष स्मृति पनि क्रमशः कमजोर हुँदै गएको छ।
तर सुर्खेतमा पुल, सडक, विमानस्थल निर्माणदेखि विभिन्न उपकरणको आविष्कार र मर्मतसम्म उनले पुर्याएको योगदान सम्झनलायक छ।
औपचारिक शिक्षा सीमित भए पनि आफ्नो अनुभव, सीप र जिज्ञासाका आधारमा उनले जुन काम गरे, त्यसलाई आजको भाषामा ‘स्थानीय आविष्कार’ र ‘प्रयोगात्मक विज्ञान’को उत्कृष्ट उदाहरणका रूपमा हेर्न सकिन्छ।
दलवीर सिंह सुनारको कथा केवल एउटा व्यक्तिको जीवनी होइन। यो अवसर नपाएका प्रतिभाहरू कसरी इतिहासको पानाबाट हराउँछन् भन्ने प्रश्न पनि हो।
करिब पाँच दशकपछि उनको जीवनगाथा फेरि सार्वजनिक बहसमा ल्याइनुको उद्देश्य परिवारलाई अब घडेरी वा घर उपलब्ध गराउनु मात्र होइन। प्रश्न यो हो—सुर्खेतको विकासमा आफ्नो जीवन समर्पण गर्ने दलवीर सिंह सुनारलाई के हामीले उचित सम्मान दिन सकेका छौँ ?
सुर्खेत र दैलेखले उनको योगदानलाई पुनः स्मरण गर्ने, उनको नाममा सम्मान वा स्मारक स्थापना गर्ने र नयाँ पुस्तालाई उनको कथा सुनाउने विषयमा अब सोच्ने बेला आएको छ।
किनकि इतिहास केवल राजदरबारमा निर्णय गर्नेहरूको मात्र हुँदैन। कहिलेकाहीँ इतिहास परिवर्तन गर्ने हात आरनमा फलाम पिटिरहेको एउटा अनपढ श्रमिकको पनि हुन्छ।









लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता
‘इतिहासले बिर्सिएका सुर्खेतका वैज्ञानिक दलवीर सिंह सुनार’
‘लोककल्याणकारी विज्ञापन राज्यको दया होइन’