सोच्दै नसोचेको देख्दै नदेखेको
जब देख्नुपर्छ
भगेराले चारा टिपे झैँ मानिसहरू टिपिन्छन्
पैतलामा कमिला कुल्चिए झै विशाल घरहरू
एक निमेषमै पुरिन्छन्
तिनै पुरिएका घरहरूमा
दफन हुन्छन् अनगिन्ती मान्छेहरू
एक सभ्यता आफ्नै आगनमा
चिहान बन्न विवश हुन्छ
फल्दै फुल्दै गरेको समृद्ध सभ्यता
एक निमेषमै
नदिको बगर बन्छ
संगीतबद्ध सुसाउदै बग्ने भोटेकोशी
बन्यो हिम सुनामीको ताण्डव
विध्वंसको महाविनाशले
जीवनदायिनी नदिलाई बनायो
महाप्रलयको संहारक
******************
रसुवा, धादिङ र नुवाकोटका गाउँ र शहरहरू
हुन् बर्षौँ बर्षका पुस्तौँ पुस्ताका परिश्रम, सपना र विश्वास
माटोसँग गाँसिएको आत्मीयता, अपनत्व
मातृत्वको वातसल्य
भयो धुलोमाटो भोटेकोशीको बाढीमा
थियो हिम सुनामी प्रकृतिको आक्रोश
बाल भन्यो न वृद्ध
महिला भन्यो न पुरुष
न भन्यो धनी र गरीब
युवा भन्यो न अशक्त
बाढीको उपद्रोमा
सखापै पार्यो जीवनहरू
उजाड बगरका बस्ती र शहर
बगे अनि दफन भए अनगिन्ती रहर
******************
मानव सभ्यता र प्रकृति
धेरैचोटि पहिले पनि
आमने-सामने भएका हुन्
प्रकृतिसँग हारेर नै
टेथिस सागर सुकेको हो
डाइनोसर लोप भएको हो
हिमाल रिसाएको पहिलोपटक होईन
भोटेकोशी झुक्किएको पहिलोपटक होइन
कोशी, महाकाली, गण्डकी कर्णालीका विवशताले ल्याएका
बाढीका ताण्डवहरू पनि
पहिलोपटक थिएनन्
******************
अनेक पटक भुकम्पसँग
सधैँ हिमालदेखी तराईँसम्म
बाढीले सताएको हो हामीलाई
पुरेको पहिरोले समृद्धि र सपनालाई
अतिवृष्टि, अनावृस्टि र अल्पवृष्टिको चपेटामा
भोकमरी अनिकाल झेलेकै हो देशले
कैयौंपटक लडेर उठेको हो देश
कैयौँपटक भत्केर पुनर्निर्माण भएको हो देश
कैयौँपटक रोग र शोकले गलेर तड्पिएर पनि
ठाडो उठेको देश
******************
सभ्यताका ती बीभत्स पविभत्स
पुनरूत्थान गर्न जुरुक्क उठेको हो देश
हिजोका विपत्ति परास्त गर्न
जसरी आएको हो जागरण
जसरी भएको हो हातेमालो
जसरी बढाइएको हो हौसला
त्यो समय र सभ्यता
आजको मार्गदर्शन हो
युगिन कर्तव्य बहन हो
******************
हिजोका त्याग
समर्पणको चेतना
मानवताको पुकार
सेवाभाव र परोपकार
जसरी विपत्तिमा
राहत, उद्वार र पुनर्स्थापना भएर
पुगे हुन कुना र कन्दरामा
आज देशले मागेको हो
हिजोको जागरण
हिजोको समर्पण
हिजो हातेमालो
हो देशले मागेको सेवाभाव र परोपकार
पुनर्निर्माण, राहत र उद्धार
******************
विज्ञान र मिथक दुबै बोलेका छन
प्रकृतिको रौद्र रूपबारे
हाहाकार, आतंक, महाविनाश भोटेकोशीमा झैँ
वा त्यो भन्दा पनि क्रुर
सावधान बन्ने त चेतनाको ठेकेदार मान्छेले नै हो
पतन भएका सभ्यताका
अकल्पनीय अवशेष भेटिएका थिए
भेटिइरहेका छन्
सचेत गराउन हरेक नया युगहरूलाई
हरेक नया सभ्यताहरूलाई
मानिस त कुरा दुरदर्शिताको गर्छ
व्यवहार तदर्थवादी
त्यसैले भोगिरहेको शृंखलाबद्ध बर्वादी








लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता
भोटेकोशी त्रासदी : भोग्न विवश सभ्यताहरू