२२ दिन जन्मेहुर्केको थातथलो रसुवामा बिताएर काठमाडौं फर्किएँ। तर लागिरहेको छ-शरीर मात्र काठमाडौं आएको छ, मन अझै रसुवाकै ती बस्ती, ती अनुहार र ती परिवारसँगै छ।
भोटेकोशी बाढी गएको तेस्रो दिनदेखि लगातार प्रभावित क्षेत्रमा रहेँ। उद्धार, राहत र सहयोगका क्रममा धेरै घर पुगेँ, धेरै परिवार भेटेँ। बाढीले बगाएका घर, भत्किएका बाटा र तहसनहस भएका बस्तीभन्दा पनि आफ्ना मान्छे हराएपछि टोलाएर बाटो हेरिरहेका आँखाहरूले मलाई धेरै छोए।
अझै धेरै आफन्त र जिल्लाबासी बेपत्ता छन्। उनीहरूका अनुहार सम्झनामा आउँछन्। कहिलेकाहीँ मनले अझै भन्छ,सायद कतैबाट फर्किएर आउलान्।
तर तुरुन्तै अर्को प्रश्न उठ्छ : भोटेकोशीले उनीहरूलाई कहाँ लग्यो होलारु अहिले कहाँ होलान् यी प्रश्नको उत्तर कसैसँग छैन। यही अनिश्चितता बोकेर बसिरहेका परिवारलाई नजिकबाट देख्दा बेपत्ताको पीडा कति गहिरो हुँदो रहेछ भन्ने महसुस भयो। मृत्युको खबर सुनेर रुन सकिन्छ, तर बेपत्ताको प्रतीक्षामा आँसु पनि थाक्दो रहेछ।
राहत बोकेर आएका हातहरू :
यस्तो पीडाको बीचमा देशका विभिन्न ठाउँबाट मानिसहरू रसुवा सम्झेर आए। कसैले खाद्यान्न बोकेर आए, कसैले आर्थिक सहयोग गरे, कसैले आफ्नो समय दिए। कठिन बाटो र जोखिमको पर्वाह नगरी सहयोग गर्न आउने ती हातहरू देख्दा लाग्यो मानिस दुःखमा साँच्चिकै मानिसकै सहारा हुँदो रहेछ।
प्राप्त सहयोग प्रभावित परिवारसम्म पुर्याउन स्थानीय सरकारसँग समन्वय गर्दै हामीले पनि सक्दो प्रयास गर्यौँ। सानो सहयोगले पनि त्यतिबेला ठूलो अर्थ राख्दो रहेछ।
सबै सहयोगी मनहरूप्रति व्यक्तिगत रूपमा नमन छ।
राहत सकिएपछि बाँकी रहने जीवन :
तर राहत वितरण गर्दै गर्दा मनमा एउटा प्रश्न लगातार उठिरह्यो,आजको राहतपछि भोलि के ? घर गुमेको परिवार कहाँ बस्छ ? खेतीयोग्य जमिन बगेपछि जीविका कसरी चल्छ ? रोजगारी गुमेकाहरू फेरि कसरी उभिन्छन् आफन्त गुमाएका परिवारले आफ्नो जीवन कसरी सम्हाल्छन यही प्रश्नले मलाई महसुस गरायो रसुवालाई अब राहतभन्दा धेरै ठूलो सहयोग चाहिएको छ। पुनर्वास भनेको घर बनाएर दिनु मात्र होइन। जग्गा, घर, सडक, शिक्षा, स्वास्थ्यसँगै रोजगारी र आयआर्जनको आधार दिनु हो।
बाढीपछि धेरै मानिस नुवाकोट र काठमाडौंलगायत अन्य ठाउँतर्फ जान थालेका छन्। उनीहरूको बाध्यता बुझ्न सकिन्छ। तर रसुवाबाट मानिसहरू नै विस्थापित हुँदै गए भने त्यो अर्को ठूलो संकट हुनेछ।
त्यसैले प्रभावित परिवारलाई आफ्नै ठाउँमा सम्मानपूर्वक बाँच्न सक्ने वातावरण बनाउने जिम्मेवारी अब राज्य र समाज दुवैको हो।
काठमाडौं आएँ, तर प्रश्नहरू उतै छन् :
२२ दिनपछि रसुवा छाड्दा एउटा अनौठो खालीपन महसुस भयो।
राहतका सामग्री बोकेर पुगेका बाटाहरू सम्झिएँ। भेटेका परिवार सम्झिएँ। आफ्ना मान्छे फर्किने आशामा बाटो हेरिरहेका आँखाहरू सम्झिएँ। काठमाडौं फर्किएपछि पनि ती दृश्यहरू मनबाट हटेका छैनन्।
बेपत्ता आफन्तलाई फर्काउन हाम्रो हातमा केही छैन। तर बाँचेकाहरूलाई फेरि उभ्याउन हामीसँग धेरै कुरा गर्न सक्ने सामर्थ्य छ। अब रसुवालाई सडक र घर मात्र होइन, फेरि बाँच्ने आधार चाहिएको छ।
भोटेकोशीले रसुवामा छोडेको घाउ शब्दले बयान गर्न सकिँदैन। तर त्यो घाउ बोकेर बाँचिरहेका मानिसहरूको हात समातेर उनीहरूलाई फेरि उभ्याउनु हाम्रो साझा जिम्मेवारी हो।
काठमाडौं फर्किएँ, तर मन भने उतै रसुवामै छ









ज्ञानबहादुर शाहीको प्रश्न– ‘जेनजी आन्दोलनका दोषीलाई कारबाही खोइ ?’
भरत दाहालको पक्राउबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ
नेपाली कांग्रेसकी सांसद थपलियाको प्रश्न–‘सत्तामा पुगेकाले जनताको अवस्था किन बुझ्दैनन् ?’
कम्युनिस्ट एकताका लागि नेकपाले बनायो वार्ता समिति
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई एडवानले दियो ‘मायाको झोला’
रसुवाबाट फर्किएँ, तर मनमा प्रश्नका छालहरू उठिरहे..!