भोटेकोशी बाढी प्रभावित बालबालिका पढाउन शेष घलेले दिए ५७ करोड ८५ लाख

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष एवं व्यवसायी डा.शेष घले र उनकी पत्नी जमुना गुरुङको एमआईटी ग्रुप फाउन्डेसनले भोटेकोसी बाढीबाट प्रभावित तथा अभिभावक गुमाएका बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

फाउन्डेसनले बाढीबाट प्रभावित १८ वर्षमुनिका योग्य बालबालिकालाई कक्षा १२ सम्मको अध्ययन निरन्तरता दिन राष्ट्रिय बाल अधिकार परिषद्सँग समझदारी गरेको हो।

समझदारीअनुसार बालबालिकाको अवस्था र आवश्यकताका आधारमा शिक्षा, भोजन, आवास, कपडा, स्वास्थ्य उपचारलगायत अत्यावश्यक क्षेत्रमा सहयोग उपलब्ध गराइने फाउन्डेसनले जनाएको छ।

घलेले बाढीको पानी घट्दैमा प्रभावित परिवारको समस्या समाप्त नहुने बताएका छन्। बाढीपछि अभिभावकविहीन बनेका बालबालिका तथा उनीहरूका परिवारले भोगिरहेको कठिन अवस्थाले आफू र पत्नी जमुना गुरुङलाई गहिरो रूपमा प्रभावित बनाएको उनले बताएका छन्।

सामाजिक सञ्जालमार्फत घलेले कठिन परिस्थितिमा मात्र नभई आगामी वर्षहरूमा समेत बालबालिकालाई साथ दिन पाउनु आफ्नो परिवारका लागि अवसर र जिम्मेवारी दुवै भएको उल्लेख गरेका छन्।

उनका अनुसार सहयोगले बालबालिकालाई पढाइलाई निरन्तरता दिन, आधारभूत आवश्यकता पूरा गर्न र भविष्यप्रति आशावादी बन्न सहयोग पुग्नेछ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ