भोटेकोशी बाढी प्रभावित बालबालिकालाई एडवानले दियो ‘मायाको झोला’

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित बालबालिकाहरुलाई एडवान नेपालले ‘मायाको झोला’ वितरण गरेको छ।

संघिय राजधानी काठमाडौँ नजिकै रहेर पनि राहत र शैक्षिक सामग्रीको पर्याप्त पहुँच पुग्न नसकेको धादिङको गजुरी गाउँपालिका वडा नं.५ र ६ का १०० जना विद्यार्थीलाई सोमबार ‘मायाको झोला’ प्रदान गरिएको हो।

बाढी प्रभावित परिवारलाई राखिएको पोखरे खोलाको होल्डिङ सेन्टर पुगेर ‘मायाको झोला’ वितरण गरिएको एडवानकी अध्यक्ष बिन्दु परियार थापाले जानकारी दिईन् ।

विपद्का कारण पठनपाठनका सामाग्री गुमाएका बालबालिकालाई सहयोग पुर्‍याउने उद्देश्यले ‘मायाको झोला’ वितरण गरिएको एडवान नेपालले जनाएको छ।
एडवानका अनुसार ‘मायाको झोला’ मा विद्यार्थीका लागि आवश्यक पर्ने स्कुल ब्याग, कापी,कलम लगायत शैक्षिक र खेलकुदका सामाग्री रहेका छन् ।

विपद्पछि विद्यालय जानबाट बंचित रहेका बालबालिकालाई अध्ययनप्रति उत्साहित बनाउन यस्ता सहयोगले महत्वपूर्ण भूमिका खेल्ने स्थानीयहरुको भनाइ छ।

एडवान नेपालले यस अघि पनि रसुवा र नुवाकोटका बाढी प्रभावितहरुलाई राहत सामाग्री सहयोग गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ