सुदूरपश्चिममा आज बजेट पारित गर्ने तयारी

सुदूरपश्चिममा बजेट पारित गर्ने तयारी, कांग्रेसले सदन बहिष्कार गर्ने

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा आज बजेट पारित गर्ने तयारी गरिएको छ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्रको असन्तुष्टि सम्बोधन गर्न संसदीय छानबिन समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति जुटेपछि बजेट पारित गर्ने तयारी भएको हो। तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सदन बहिष्कार गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको नेकपा संसदीय दलको बैठकले आइतबार प्रस्तुत बजेट पारित गर्ने र विवादित विषयमा संसदीय छानबिन गर्ने सहमति गरेको हो। नेकपा सांसद अक्कल रावलका अनुसार छानबिन नसकिएसम्म विवादित योजनामा पुँजीगत खर्च गरिने छैन।

आर्थिक वर्ष सुरु भएको करिब तीन महिनापछि प्रस्तुत बजेटलाई लिएर सत्तारूढ दलकै सांसदहरूले बजेट निर्माणमा बिचौलियाको प्रभाव, कमिसनको खेल र पहुँचका आधारमा योजना छनोट गरिएको आरोप लगाउँदै आएका थिए।

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।

प्रमुख प्रतिपक्षी कांग्रेसले बजेट जनपक्षीय नभएको र सरकारले प्रतिपक्षसँग समन्वय नगरेको आरोप लगाएको छ। कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले आजदेखि प्रदेशसभाका सबै बैठक बहिष्कार गर्ने निर्णय भएको जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ