अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति भीम रावलको आपत्ति

काठमाडौं । नेकपाका नेता डा. भीम रावलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको नेपाली राष्ट्रवादसम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले नेपालको राष्ट्रवाद कुनै देशविशेषको विरोधमा नभई राष्ट्रिय सार्वभौमसत्ता, स्वाधीनता, स्वाभिमान, भौगोलिक अखण्डता र राष्ट्रिय हितको रक्षासँग जोडिएको बताएका छन्।

वाग्लेले नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिटमा भारतविरोधी भावनामा आधारित नेपाली राष्ट्रवादको युग समाप्त भएको आशय व्यक्त गरेका थिए।

त्यसप्रति प्रतिक्रिया जनाउँदै रावलले नेपालको एकीकरणदेखि हालसम्म राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताका पक्षमा नेपाली जनताले गरेको संघर्ष र योगदानको इतिहासलाई अवमूल्यन गर्न नहुने बताएका छन्। नेपालको संविधानका धारा ५, ५१ र २७९ लगायतका प्रावधानले पनि राष्ट्रिय हित, सार्वभौमसत्ता र स्वतन्त्रतासम्बन्धी विषयलाई समेटेको उनको भनाइ छ।

रावलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वाग्लेको अभिव्यक्तिलाई राष्ट्रिय हितविपरीत भएको टिप्पणी गरेका छन्। उनले राष्ट्रिय स्वाधीनता र भारतसँगको सम्बन्धका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा सरकारका नेतृत्वमाथि पनि प्रश्न उठाएका छन्।

उनले रास्वपाका तत्कालीन महासचिव मुकुल ढकालको भनाइ, भारतीय प्रभुत्व स्वीकार्नुपर्ने आशयका अभिव्यक्ति, प्रधानमन्त्री बालेन्द्र शाहको भारतसँगको सीमा विवादसम्बन्धी टिप्पणी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको भारत भ्रमण, पारस्परिक कानुनी सहायता सम्झौता र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको म्याद थपलगायतका विषय उठाएका छन्।

यी घटनाक्रमलाई जोड्दै रावलले सरकार र रास्वपा नेतृत्वमाथि राष्ट्रिय हितमा सम्झौता गरेको आरोप लगाएका छन्। उनले यस्ता कामकारबाही नगर्न र संविधान, देश तथा जनताको हितलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ