इनमकी श्रीमतीले किन गुहारिन् मानव अधिकार आयोग ?

काठमाडौं । हिरासतमा रहेका इनम सापकोटाको जीवनरक्षा र मानव अधिकारको सुनिश्चितताको माग गर्दै उनकी श्रीमती कविता पाण्डेले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन्।

शुक्रबार आयोगमा दर्ता भएको उजुरीमाथि अनुसन्धान अघि बढाइने आयोग स्रोतले जनाएको छ। हिरासतमा रहेका व्यक्तिको मानव अधिकार र आधारभूत सुविधा सुनिश्चित भए–नभएको विषयमा अनुसन्धान गरिने स्रोतको भनाइ छ।

उजुरीमा प्रहरीले सापकोटालाई गैरकानुनी रूपमा नियन्त्रणमा लिएर झुटा मुद्दामा फसाएको दाबी गरिएको छ।

निवेदनअनुसार सापकोटा २०८३ असोज १४ गते बिहान नयाँदिल्ली जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँचमा पुगेका बेला प्रहरीले उनका दुईवटा मोबाइल खोसेर आँखामा पट्टी बाँधी अज्ञात स्थानमा लगेको उजुरीमा उल्लेख छ।

प्रहरीले असोज १४ देखि १५ गते साँझसम्म नियन्त्रणमा राखेर पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र हिमालय होटलका नवीन तुलाधरसहितका व्यक्तिविरुद्ध बयान दिन दबाब दिएको सापकोटाको दाबी छ।

उनीहरूविरुद्ध प्रमाण र बयान दिए आफूलाई रिहा गर्ने भन्दै प्रहरीले आफू र परिवारलाई ज्यानको धम्की दिएको पनि उजुरीमा उल्लेख छ।

प्रहरीले तयार पारेको कागजमा आफूले नगरेका र थाहा नभएका कुरा लेखिएको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेको सापकोटाले निवेदनमा बताएका छन्।

त्यसपछि प्रहरीले आफूलाई जिल्ला प्रहरी परिसर भद्रकाली पुर्‍याएर हिरासतमा राखेको र भोलिपल्ट पानीपोखरीस्थित निवासमा लगेर खानतलासी गरेको पनि उजुरीमा उल्लेख छ।

आयोग स्रोतका अनुसार उजुरी दर्ता भइसकेको छ। अब सापकोटाको हिरासत अवस्थाबारे स्थलगत अनुसन्धान गरी मानव अधिकारको अवस्था र उजुरीमा गरिएका दाबीको सत्यतथ्य बुझिनेछ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ