एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ। झन्डै एक महिना चलेको प्रतियोगिताले आज नयाँ च्याम्पियन पाउनेछ वा लुम्बिनीले उपाधि रक्षा गर्नेछ भन्ने टुंगो लाग्नेछ।

लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै फाइनल पुगेको हो। सुदूरपश्चिमले भने दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो।

सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनल खेल्दैछ। यसअघिका दुवै संस्करणमा उपविजेतामै सीमित भएको सुदूरपश्चिम यसपटक पहिलो उपाधि जित्ने लक्ष्यमा छ।

यता, लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्दै एनपीएलमा नयाँ इतिहास रच्ने दाउमा छ।

दुई टोलीबीचको पछिल्लो पाँच भेटमा लुम्बिनीले तीन खेल जितेको छ भने सुदूरपश्चिमले दुई खेलमा बाजी मारेको छ।

प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ