चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मङ्सिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द हुनेछ। उक्त समयमा नारायणगढ–मुग्लिङ सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माका अनुसार पहिरो रोकथामको काम गर्दा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो।
तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि सडक डिभिजन कार्यालय भरतपुरले दीर्घकालीन समाधानका लागि विशेष प्रविधि अपनाएर काम अघि बढाउन लागेको हो। वर्षायाममा मात्रै नभई हिउँदमा समेत पहिरो खस्दा सडक अवरुद्ध हुन थालेपछि रोकथामको कामलाई प्राथमिकता दिइएको कार्यालयले जनाएको छ।
पहिरो प्रभावित भिरको व्यवस्थापनका लागि ठूला ढुङ्गा पन्छाउने, किला रड गाडेर भिरलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि अपनाइनेछ। त्यस्तै, भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ र माटो तथा भिरको स्थायित्व कायम गर्न बायोइन्जिनियरिङ प्रविधि प्रयोग गरिनेछ।
सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माका अनुसार पहिरो रोकथामका लागि मुख्य रूपमा नेलिङ प्रविधि प्रयोग गरिनेछ। भिरको प्रकृतिअनुसार द्विआयामिक तथा त्रिआयामिक ढाँचामा बायोइन्जिनियरिङका उपाय पनि अपनाइनेछन्।
गत असोजदेखि रोकिएको काम पुनः सुरु गर्न लागिएको हो। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा तुइनखोलामा पनि काम गरिएको थियो। तर, कृष्णभीरमा यातायात सञ्चालन सहज भएपछि तुइनखोलाको काम रोकिएको शर्माले बताए।
उनका अनुसार तुइनखोलामा पहिरो रोकथामको काम पूरा गर्न कम्तीमा १५ दिन सडक बन्द गर्नुपर्ने अवस्था देखिएको छ। प्राविधिक मूल्याङ्कनपछि कामका लागि आवश्यक समय निर्धारण गरिने उनले बताए।
यसैबीच, पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङनजिक घोप्टेभीरमा भइरहेको काम भोलिसम्म सकिने र त्यसपछि पर्सिदेखि सडक सञ्चालनमा आउने शर्माले जानकारी दिए। घोप्टेभीरको काम सकिएपछि तुइनखोलामा पहिरो रोकथामको कामलाई तीव्रता दिने तयारी छ।
नारायणगढ–मुग्लिङ सडक बन्द भए पनि काठमाडौँबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने प्रशासनले जनाएको छ। प्रशासनले यात्रुलाई समयअनुसार यात्रा व्यवस्थापन गर्न आग्रह गर्दै सडक बन्दका कारण पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ।









पुस १ देखि सङ्खुवासभामा क्षयरोगी पहिचान गरिने
१८ वर्ष नपुग्दै विवाह गर्नेको संख्या बढ्दो
तरकारी खेती तालिमले आत्मनिर्भर बन्ने आशा
भोटेकोशीमा श्रीमान् गुमाएकी पेमालाई सरकारको साथ
घोप्टेभीरको पहिरो पन्छाउन नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द
युवा नीति निर्माणका हिस्सेदार बन्नुपर्छ : लक्ष्मी विक
वरिष्ठ कलाकार मदनदास श्रेष्ठ राप्रपाको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
भूकम्पबाट क्षतिको विवरण प्राप्त भएको छैन : प्रजिअ दाहाल
एमालेले स्थानीय तहका जनप्रतिनिधिसंग अन्तरसंवाद गर्दै