१८ वर्ष नपुग्दै विवाह गर्नेको संख्या बढ्दो

काठमाडौं । विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको छ। बालविवाहको भयावह अवस्था अन्त्य गर्न संयुक्त राष्ट्रसंघले विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ।

आज नोभेम्बर २७ मा पहिलोपटक बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको महासभाले गत सेप्टेम्बर ४ मा प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष यो दिवस मनाउने निर्णय गरेको थियो।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२६ सम्म विश्वमा जीवित रहेका करिब ६५ करोड महिला तथा बालिकाको विवाह १८ वर्ष उमेर नपुग्दै भएको थियो। विश्वभर प्रत्येक पाँचमध्ये एक बालिकाको बाल्यकालमै विवाह हुने गरेको छ। प्रत्येक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार हुने गरेको तथ्यांक छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बालविवाहले लाखौँ बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा गम्भीर असर पारिरहेको बताएका छन्। गत अक्टोबर ११ मा अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा जारी सन्देशमा उनले गरिबीलाई बालविवाहको प्रमुख कारणका रूपमा औँल्याएका थिए। द्वन्द्व, जलवायुजन्य विपद् र विस्थापनका बेला बालविवाहको जोखिम झन् बढ्ने उनको भनाइ थियो।

विश्वमा बालविवाहको सबैभन्दा ठूलो भार दक्षिण एसियाले व्यहोर्दै आएको छ। बालविवाहमा परेका महिला तथा बालिकामध्ये ४४ प्रतिशत अर्थात् करिब २८ करोड ५० लाख दक्षिण एसियामा छन्। त्यस्तै, उपसहारा अफ्रिकामा १८ प्रतिशत अर्थात् करिब ११ करोड ५० लाख रहेका छन्।

पछिल्लो एक दशकमा विश्वव्यापी बालविवाह दर १५ प्रतिशतले घटेको छ। यसअघि १८ वर्ष नपुग्दै विवाह हुने महिला तथा बालिकाको अनुपात २५ प्रतिशत रहेकामा अहिले घटेर करिब २१ प्रतिशतमा झरेको छ। यस अवधिमा करिब दुई करोड ५० लाख बालविवाह रोकिएको राष्ट्रसंघले जनाएको छ।

दिगो विकास लक्ष्यको लक्ष्य नम्बर ५.३ ले सन् २०३० सम्म बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाहलगायत सबै हानिकारक प्रथा अन्त्य गर्ने लक्ष्य राखेको छ। तर, अहिलेको प्रगतिको गति कायम रहे बालविवाह अन्त्य गर्न अझै करिब ३०० वर्ष लाग्ने राष्ट्रसंघको आकलन छ।

फोटो : एआई निर्मित

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ