धनगढी । निजी जग्गामै पनि नदीजन्य पदार्थ स्टोर (भण्डार) गर्न अनुमति लिनुपर्ने प्रावधान भए पनि कैलालीको गोदावरीमा भने आफूखुसी सार्वजनिक ठाउँमा खुलेआम नदीजन्य पदार्थ स्टोर गरिँदै आएको छ । नदीजन्य पदार्थको सङ्कलन गर्ने खोला किनार, वन, सडक किनारामा नदीजन्य पदार्थ स्टोर गरेर राख्न नपाइने भए पनि यहाँ खुलेआम अवैध रूपमा नदीजन्य पदार्थको स्टोर गरिँदै आएको हो ।
अत्तरियाबाट गोदावरी नगरपालिका जाने बाटो छेउमै दुर्गालक्ष्मी सामुदायिक वन र भीमदत्त राजमार्ग छेउमा नदीजन्य पदार्थ बालुवा, ढुङ्गा स्टोर गरिएको छ । तर, यसरी सार्वजनिक ठाउँमा खुलेआम नदीजन्य पदार्थको स्टोर हुँदा कसले राखेको भन्ने बारेमा समेत सरोकारवाला निकायलाई जानकारी छैन ।
दुर्गालक्ष्मी सामुदायिक वनकी अध्यक्ष शिवा कडायतले कसले वनमा बालुवा, ढुङ्गा राखेको भन्ने बारेमा जानकारी नभएको बताइन् । उनले रातीको समयमा कसैले राखेको हुन सक्ने बताइन् । उनले भनिन् ‘कसले राखेको भन्ने नै थाहा छैन । हटाउन सकलाई भन्ने ।’
स्थानीयले भने रातीको समयमै वनमा बालुवा ढुङ्गा स्टोर गर्ने गरिएको र, नदीजन्य पदार्थको सङ्कलन बन्द भएपछि महँगोमा बिक्री गर्ने गरिएको बताए । सबै काम रातीको समयमा हुने स्थानीयको भनाइ छ । ‘गत वर्ष देखि नै यो ठाउँमा ट्याक्टर व्यवसायीले बालुवा ढुङ्गा स्टोर गरेर राख्दै आएका छन्’ एक स्थानीयले भने ‘यहीबाट बर्खाको सिजनमा बिक्री हुने गरेको छ ।’
स्टोर गर्ने र बिक्री गर्ने काम रातीको समयमा भए पनि नगरपालिका जाने बाटो छेउमै पर्ने उक्त अवैध नदीजन्य पदार्थ हटाउने वा कारबाही गर्ने बारेमा भने जनप्रतिनिधिले वास्ता गरेका छैनन् ।
गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले वन र सडक छेउमा स्टोर गर्न नपाइने बताइन् । उनले कसले सडक किनारामा राखेको भन्ने बारेमा आफूलाई जानकारी नभएको बताइन् । गोदावरीमा पूर्व पश्चिम राजमार्ग छेउमा पनि अवैध रूपमा नदीजन्य पदार्थको स्टोर गर्ने गरिएको छ ।
गोदावरी नगरपालिका -३ चौकिडाँडामा क्षेत्रमा बर्सेनि सडक किनारामा अवैध रूपमा नदीजन्य पदार्थको स्टोर गरिँदै आएको भए पनि पालिकाले कारबाही गर्ने सूचना बाहेक कुनै एक्सन लिएको देखिदैन् । जसले गर्दा केही सीमित, ट्याक्टर व्यवसायी र ठेकेदारले मात्रै सार्वजनिक जग्गामा आफूखुसी भोग चलन गरेर लाभ लिइरहेका छन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने