बझाङ। जयपृथ्वी राजमार्ग अन्तर्गत बझाङको बागथला–चैनपुर सडक खण्डको अवस्था दयनीय बनेको छ । ४५ किलोमिटरको यो यात्रामा यात्रुुहरूले गन्तव्यभन्दा पहिले निक्कै सास्ती खेप्नुपर्ने बाध्यता छ ।
सडकमा व्यापक खाल्डाखुल्डी र वर्षातको समयमा खाल्डामा पानी जम्ने समस्याले यात्रुलाई असहज भएको छ । कतै पानी भरिएका गहिरा खाल्डा, कतै चिप्ला मोड गर्दा यात्रुलाई हैरान मात्र बनाएको छैन, बिरामीका लागि त ‘सडक’ आफैँ रोग बन्न थालेको छ ।
जयपृथ्वी राजमार्गको जालेबगर, बालुवाटार, भ्यागुते खोला लगायत थुप्रै ठाउँमा हिँउदमा सुख्खा पहिरो र वर्षातको बेला पहिरो खस्दा बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ ।
विश्व बैंकको आर्थिक सहयोगमा करिब ३० करोड रुपियाँ खर्चेर कालोपत्रे गरिएको यो सडक काम सम्पन्न नहुँदै बिग्रिएको छ । ओटासिल प्रविधिमा गरिएको कालोपत्रे स्थानीयले ‘गुणस्तरहीन’ भएको भन्दै ठेकेदार र आयोजना कार्यालयमाथि प्रत्यक्ष आरोप लगाएका छन् ।
स्थानीयका अनुसार सडक बनाउनुभन्दा ठेकेदार र सरकारी कर्मचारीले छिटो मुनाफा कमाउनमा ध्यान दिएको कारण सढको यो अवस्था भएको हो। बर्सेनि करोडौं बजेट विनियोजन हुने गरे पनि काम समयमै नहुँदा समस्या झन गहिरिँदो छ । यो सडकका कारण यात्रु मात्र होइन, चालक र गाडी व्यवसायी पनि हैरान छन ।
गाडीको पाटपुर्जा बिग्रिनु, हर्न काम नगर्नु, इन्जिनले साथ नदिनु सामान्य बनिसकेको छ। यातायात व्यवसायी चक्र बोहराका अनुसार, बागथलादेखि चैनपुर पुग्न डेढ घण्टा लाग्ने बाटो अहिले ५ घण्टा लाग्छ ।
स्थानिय दीपकराज जोशी भन्नुभयो, निर्वाचित सांसदलाई सडकको अवस्था सुधार्न भनियो, तर कसैले वास्ता गरेन। नेताको चासो नदेखाउनु , ठेकेदारको मनपरीका कारण आम जनताको सास्ती खेप्नुपरेको उनको भनाइ छ । जयपृथ्वी राजमार्गको बागथला–चैनपुर खण्ड जनताका लागि कष्टको प्रतीक बनेको छ । ठेकेदार, आयोजनाको उदासीनता, राजनीतिक बेवास्ता र प्राविधिक कमजोरीको समष्टि परिणाम अहिले जनताको दुस्खमा परिणत भएको छ ।
सरकारले रणनैतिक सडक पुल निर्माण, सडक पूर्वाधार विकास कार्यक्रम, राजमार्ग स्तरोन्नति तथा पुनस्स्थापना कार्यक्रमलगायत विभिन्न योजनामार्फत करोडौँ रुपियाँ खर्च गरिरहेको भए पनि सोहीअनुसारको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सडक पूर्वाधारको यस्तो अवस्था जारी रहँदा बझाङका बासिन्दाले दैनिक सास्ती भोग्न बाध्य भएका छन् ।
सडक डिभिजन कार्यालयका बैतडीका निमित्त प्रमुख लक्ष्मणदत्त जोशीले खाल्डाखुल्डी पुर्न तथा सडक मर्मतका लागि आगामी बजेटमा समावेश गरिएको र साउन महिनामै ठेक्का प्रक्रिया अगाडि बढाउने तरिकाले काम भइरहेको बताए ।
उनले वर्षातको बेला विभिन्न ठाउँहरुमा पहिरोका कारण सडक अवरुद्ध हुने भएकाले बढी पहिरो जानसक्ने ठाउँहरुमा दुई वटा स्काइभेटर लगाएर पहिरो जाँदा पन्छाएर सडक खुलाउने काम भइरहेको बताए ।









नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने