काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्र दिवस मनाइरहँदा पटक-पटकका परिवर्तनका उपलब्धि खोसिनु र जेनजी युवाको आन्दोलनसम्म आइपुग्दाको अवस्थाबारे आत्मसमीक्षा गर्नुपर्ने बताएकी छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले हामीले लोकतन्त्रको नारामात्र भट्याएको तर लोकतान्त्रिक व्यवहार र संस्कारलाई संस्थागत गर्नै नचाहेको टिप्पणी गरिन् ।
‘सिद्धान्तमा लोकतन्त्र आयो तर व्यवहारमा विभेदलाई नै प्रश्रय दिइरह्यौँ । संविधानमा समानता लेख्यौँ तर संरचनामा असमानतालाई नै जोगाइरह्यौँ । एउटै वर्ग सत्तामा स्थायी रूपमा हालीमुहाली गरिरहने, स्रोत-साधनमा एकाधिकार जमाइरहने र राज्य संरचनामा पजनी चलाइरहने सिलसिलाको अन्त्य हुनै सकेन । यस्ता अपसंस्कृतिले राज्यप्रति विश्वास हराउँछ र विद्रोह जन्माउँछ’, कार्कीले भनिन्, ‘यहाँ त्यही भयो बजेट वितरणमा भएको मनोमानीलाई सम्झिऊँ । समानुपातिक निर्वाचन प्रणालीबाट प्राथमिकतासाथ लाभ पाएकाहरूको सूची केलाऊँ । छात्रवृत्ति र रोजगारीमा गरिएको काखापाखा हेरौँ । अनि यहाँ विद्रोह नभएर के हुन्छ ?’
सीमान्तकृत, पहुँचहीन र वञ्चित समुदायमाथि अन्याय, विभेद र बहिष्करण कायम राखेर लोकतन्त्र जीवित रहन नसक्ने उनको जिकिर छ ।
प्रजातन्त्रको वास्तविक झल्को आम मानिसको मुहारमा झल्किने आनन्ददायी मुस्कान र उनीहरूका निस्फिक्री निद्रामा झल्कनुपर्ने कार्कीको भनाइ छ । ।
लोकतन्त्रको मुख्य चुनौती भ्रष्टाचार, स्रोतमा सीमित वर्गको हालीमुहाली र दण्डहीनता भएको भन्दै यही कारण ठूलो युवा पङ्क्ति पलायन भएको उनको निष्कर्ष छ ।
तोकिएकै मितिमा भयमुक्त र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको भन्दै उनले यस निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने आफूले विश्वास लिएको बताएकी छन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने