काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संघीय र प्रदेश सरकारमा मन्त्रालय संख्या कटौती गर्ने घोषणा गरेका छन् ।
बिहीबार काठमाडौँमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।
उनले संघमा बढीमा १६ वटा र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय रहने प्रतिज्ञा गरे । गठबन्धनको नाममा भागबण्डा गर्न कुनैपनि दलले मन्त्रालय संख्या बढाउन नपाउने उनको भनाइ छ ।
सभापति थापाले २०४६ पछि काँग्रेस नेतृत्वमा सञ्चालित सरकारको अवधिलाई ‘स्वर्णिम युग’को संज्ञा दिँदै २०४६ सालपछिका राजनीतिक तथा आर्थिक परिवर्तनहरू काँग्रेसले अवलम्बन गरेको नीति र मोडेलकै परिणाम भएको दाबी पनि गरे ।
त्यसपछिका राजनीतिक उतारचढाव र जनविद्रोहको प्रसङ्ग उल्लेख गर्दै उनले प्राकृतिक कारणबाट भएको क्षतिसमेत आगामी पाँच वर्षभित्र पूर्ति गर्ने प्रतिज्ञा गरे । उनले आगामी पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।
उनले भने ‘संघमा जम्मा १६ वटा मन्त्रालय र प्रदेशमा जम्मा ६ वटा मन्त्रालय रहनेछन् । अब कुनैपनि पार्टीले गठबन्धन गरे भागबण्डा गर्न मन्त्रालय बढाउन पाउँदैन । विगतमा काँग्रेसले सरकार चलाएको समयलाई हामी स्वर्णिम युग मान्दछौँ । आज पनि नेपालमा जेजति कुरा भएका छ त्यो सबै २०४६ सालपछि काँग्रेसले अपनाएको नीति र मोडेलकै आधारमा भएको छ । यद्यपि त्यसपछि पनि नेपालले ठुलो जनविद्रोहको सामना गर्नुपर्यो । यो बीचमा जतिपनि प्राकृतिक कारण भएको क्षतिलाई पनि पाँच वर्षभित्र कवर गर्छौँ । हामी अबको पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पुर्याउँछौँ ।’
सभापति थापाले अब कुनैपनि संवैधानिक आयोगमा भागबण्डाको आधारमा नियुक्ति हुन नदिने प्रतिज्ञा गरे । अबको पाँच वर्षभित्र मुलुकबाट भ्रष्टाचार पूर्णरुपमा अन्त्य गर्ने उनको दाबी छ । उनले युवाहरू भविष्यका कर्णधार नभई वर्तमानका साझेदार भएको भन्दै उनीहरूलाई संविधानमा उल्लेखित सबै हकहरू उपयोग गर्ने वातावरण मिलाउने प्रतिबद्धता व्यक्त गरे ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने