म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा खानेपानी आपूर्तिका लागि तीन वर्षअघि निर्माण गरिएको वैकल्पिक संरचना अझै सञ्चालनमा आउन सकेको छैन । मुख्य पाइपलाइनमा समस्या हुँदा प्रयोग गर्ने उद्देश्यले दुई करोड ४६ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको संरचना प्राविधिक समस्याका कारण अलपत्र परेको हो ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनी नगरपालिका–२ स्थित म्याग्दी नदीको हाडेभिरबाट बराहपाखोस्थित पानी सङ्कलन केन्द्रसम्म पानी पुर्याउने संरचना विसं २०८० मा निर्माण सम्पन्न गरेको थियो । तर, प्राविधिक समस्या समाधान नहुँदा संरचना उपभोक्ता संस्थालाई हस्तान्तरणसमेत गरिएको छैन ।
असोज ८ देखि ११ गतेसम्मको विपद्ले मुख्य खानेपानी पाइपलाइन क्षतिग्रस्त बनाएपछि बेनीमा पानी आपूर्ति प्रभावित भएको थियो । वैकल्पिक संरचना सञ्चालनमा नआउँदा विपद्का बेला पनि त्यसको उपयोग हुन नसकेको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले बताए ।
काठमाडौँको एएम प्याराडाइजले विसं २०७८ असोजमा दुई करोड ४६ लाख रुपैयाँमा निर्माणको ठेक्का लिएको थियो । तीनवटा सबमर्सिबल पम्पमार्फत प्रतिसेकेन्ड १५ लिटर पानी आपूर्ति गर्न सक्ने क्षमता रहेको संरचनामा हाडेभिरबाट करिब नौ सय मिटर पाइप बिछ्याइएको छ ।
यसैबीच, मुख्य मुहानको १४ किलोमिटर पाइपलाइन अस्थायी मर्मत गरी कात्तिक २७ गतेदेखि पानी वितरण सुरु गरिएको छ । हाल प्रतिसेकेन्ड आठ लिटर मात्रै पानी आपूर्ति भइरहेको छ । विपद्अघि उक्त मुहानबाट प्रतिसेकेन्ड २२ देखि २५ लिटर पानी आउने गरेको थियो ।
बेनी बजारमा दैनिक प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्ने भए पनि पर्याप्त आपूर्ति हुन नसक्दा आलोपालो प्रणाली लागू गरिएको छ । बेनीका तीन वडाका करिब २५ हजार जनसङ्ख्या खानेपानी अभावबाट प्रभावित छन् । उपभोक्ताले वैकल्पिक संरचनाको प्राविधिक समस्या समाधान गरी तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् ।








प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणमा हवाई रुट मुख्य एजेन्डा
बर्दियाको जब्दीघाटमा ६७ करोडको नयाँ पुल बन्दै
लोहोरो हानेर श्रीमतीको हत्या
शैलुङ बन्दै चलचित्र छायाङ्कनको नयाँ गन्तव्य
बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ घाइते
भारतीय विदेश सचिव आज नेपाल आउँदै