धनगढी, १० फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले धनगढी उपमहानगरपालिका–१७ डमौलीस्थित शिवगङ्गा नदीमा पक्की (मोटर) पुल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आइतबार डमौलीमा आयोजित टोल भेलालाई सम्बोधन गर्दै उहाँले आफूलाई जनताको सेवकका रूपमा प्रस्तुत गर्दै जनतालाई नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्नुभयो।
“जनता नै सबैभन्दा ठूला हुन्। जनताको विकास नै मेरो पहिलो प्राथमिकता हो,” उहाँले भन्नुभयो, “कैलाली–५ का जनताका आवश्यकताहरू पूरा गर्न म प्रतिबद्ध छु।”
उम्मेदवार आलेले निर्वाचित भएपछि कैलाली निर्वाचन क्षेत्र नं. ५ को समग्र विकासलाई तीव्रता दिने योजना प्रस्तुत गर्नुभयो। उहाँले गेटा विमानस्थल को स्तरोन्नति, गेटा मेडिकल कलेज मा एमबिबिएस अध्ययन सञ्चालन, सेती प्रादेशिक अस्पताल को स्तरोन्नति तथा फाप्ला रंगशाला लाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाका रूपमा विकास गर्ने योजनालाई प्राथमिकतामा राखिएको बताउनुभयो।
त्यसैगरी, डमौलीस्थित शिवगङ्गा नदीमा पक्की मोटर पुल निर्माणलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले भन्नुभयो, “शिवगङ्गा नदीमा अहिलेसम्म पक्की पुलको डिपिआर सम्म नबन्नु दुर्भाग्यपूर्ण कुरा हो। डिपिआरका लागि बजेट विनियोजन गराएर पाँच वर्ष भित्रै पक्की पुल निर्माण गर्नेछु।”
उक्त भेलामा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले डमौली क्षेत्रको विकास, पूर्वाधार विस्तार र आधारभूत सेवासम्बन्धी आफ्ना धारणा तथा सुझाव समेत राखेका थिए।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन