काठमाडौं । पर्यटककाे ‘नक्कली उद्धार (फेक रेस्क्यू)’ गरी ठगी गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले विमान सेवा सञ्चालक संघ नेपालका पूर्व उपाध्यक्ष राजेन्द्रबहादुर सिंह र रोयल होलिडेज एड्भेन्चर एन्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप तिवारीलाई नियन्त्रणमा लिएको हो ।
सीआइबीका अनुसार सन्दीप तिवारीलाई मंगलबार र राजेन्द्रबहादुर सिंहलाई बुधबार बिहान पक्राउ गरिएको हो ।
यससँगै ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमा कम्पनीका नेपालस्थित स्थानीय एजेन्ट तथा हेलिकप्टर कम्पनीका शेयरधनी/सञ्चालकसमेत गरी हालसम्म ९ जना पक्राउ परिसकेका छन् ।
यसअघि सीआइबीले माघ २५ गते श्रिद्धी अस्पतालका सञ्चालक डा.गिर्वाणराज तिमिल्सिनालाई पनि पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरूमाथि राष्ट्रहित प्रतिकूल काम गर्न नहुने कसुर तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।
यसरी सुरु भयो अनुसन्धान
माघ ११ गते सिआइबीले पर्वतारोहणका लागि आएका विदेशी पर्यटकलाई बिमाको रकम असुल्न संगठित रूपमा ठगी हुँदै आएको भन्ने सूचना प्राप्त गरेको थियो । सोही आधारमा प्रारम्भिक अनुसन्धान गर्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो ।
आरोपअनुसार पर्यटकलाई कृत्रिम रूपमा बिरामी भएको देखाएर हेलिकप्टरमार्फत उद्धार गर्ने, अस्पताल भर्ना गराउने र त्यसपछि बिमा दाबी गर्ने गरिएको थियो ।
यस प्रकरणमा यसअघि माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्स्पेरियन्स एन्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुवास केसी पक्राउ परिसकेका छन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने