काठमाडौँ । सरकारले विवाहको लागि तोकेको २० वर्षको उमेरलाई नै कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालहरूले जोड दिएका छन् ।
सरकारले २० वर्ष नपुगीकन कानुनी रूपमा विवाह गर्न नपाइने व्यवस्था गरेको छ । कानुनमा रहेको उक्त व्यवस्थालाई कार्यान्वयन गर्न नसक्दा अहिले पनि ४० प्रतिशत विवाह २० वर्ष मुनि नै भएको राष्ट्रिय तथ्यांकले देखाउँछ ।
अझै २० वर्षबाट घटाइ १८ वर्षमा विवाह गर्न मिल्ने गरी कानुन बनाउने विषयमा बहसहरू हुने गरेका छन् । तर सरोकारवाला निकायहरू भने किशोर किशोरीको विवाह २० वर्ष पुगेपछि मात्रै गर्न सकिने कानुनी व्यवस्था नै सही रहेको जिकिर गर्छन् ।
२० वर्ष उमेर पुगेपछि विवाह गर्ने कुराले किशोर किशोरीको शिक्षा, स्वास्थ्य, रोजगारी र भविष्यको समग्र अवस्थालाई समेट्न सक्ने बताउँछन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले विवाहको उमेर कानुनी व्यवस्थाअनुसार दुवैको २० वर्ष हुनुपर्ने भए पनि अहिलेसम्मको प्रगति सन्तोषजनक नरहेको जिकिर गरे ।
उनले अहिले पनि ४० प्रतिशत विवाह २० वर्षमुनि नै भएको अवस्था रहेको बताए । अहिलेको अवस्थामा कानुनमा भएको व्यवस्थाको कार्यान्वयन गर्नु नै महत्त्वपूर्ण हुने बताए । उनले कानुनको कार्यान्वयन हुन नसक्दा बालविवाहको दर बढेको उल्लेख गरे ।
उनले भने, ‘कानुनी व्यवस्था भनेको विवाहको उमेर दुवैको लागि २० वर्ष रहेको छ । र अहिलेको अवस्थामा २० वर्ष भन्दा कम उमेरमै विवाह हुने केटाकेटीको अवस्था हेर्दा त्यो सन्तोषजनक छैन । अहिले पनि ४० प्रतिशत विवाह २० वर्ष मुनि नै भएको राष्ट्रिय तथ्यांकले पनि देखाएको अवस्था छ । अहिलेको अवस्थामा कानुनमा भएको व्यवस्थाको कार्यान्वयन गर्नु नै महत्त्वपूर्ण हो । त्यो कार्यान्वयन नभएको अवस्था छ । त्यसैले नेपाल सरकारले कानुनी विवाहको उमेरलाई कार्यान्वयन गर्नको लागि आफ्नो नीति, कार्यक्रम त्यसको अनुगमन गर्न आवश्यक छ ।’
सरकारले कानुनी विवाहको उमेरलाई कार्यान्वयन गर्न आफ्नो नीति, कार्यक्रम त्यसको अनुगमन गर्न आवश्यक रहेको बताए । विवाहबारे शारीरिक बनावट, शिक्षा,स्वास्थ्य, रोजगारीमा पर्ने असर समग्र भविष्यमा पर्न सक्ने असरबारे अध्ययन हुन नसकेकाले आयोगले पछिल्लो समय सबै सरोकारवालाहरू राखेर अध्ययन गरिरहेको बताए । कानुनको कार्यान्वयन गर्ने निकायहरूको कार्यान्वयन पक्ष फितलो रहेको गुनासो उनको छ ।
‘पछिल्ला समयहरूमा विवाह भइरहेको तर त्यसको उजुरी नपर्ने, रोकथामको लागि पर्याप्त प्रयासहरू भएको पनि देखिँदैन । जुनसुकै व्यक्तिले पनि बालविवाह हुन लागेको भए प्रहरीमा उजुरी गर्न सकिन्छ । प्रहरीले पनि आफैँले त्यसलाई रोक्न पहल गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा थाहा हुँदाहुँदै पनि त्यसलाई नजरअन्दाज गरिएको अवस्था छ । कतिपय अवस्थामा नेपालमा विवाह हुन लागेको अवस्थामा यहाँ रोकिने अवस्था भए बाहिर देशमा गएर पनि विवाह हुने गरेको छ । कानुन कार्यान्वयन गर्ने निकायहरूले अब यो विषयमा हेर्नुपर्छ । साँच्चिकै विवाहबारे गहन अध्ययन हुन जरुरी छ,’ उनले भने ।
यता, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानकी अध्यक्ष मिना शर्माले विवाहको उमेरबारे राज्यले १८-२० को जुन छलफल सुरु गरेको भन्दै असन्तुष्टि बताइन् । उनले पहिला सरकारले बनाएको कानुनको पूर्ण कार्यान्वयन गरेर हेर्नुपर्ने जिकिर गरिन् ।
कानुनको परीक्षण नभई किशोरीहरूको भविष्यमाथि खेलबाड गर्ने गरी उमेर घटाइनु नहुने उनको भनाई थियो । उनले नेपाली समाजमा अहिले पनि पुरातनवादी रीतिरिवाज हाबी भएको भन्दै २० वर्ष भन्दा कम उमेरमा विवाह गरिदिँदा यसले किशोर, किशोरीहरूको भविष्यमा नै समस्या पैदा गर्ने गरेको बताइन् ।
उनले भनिन्, ‘नेपाल देश एउटा भए पनि हामीसँग भूगोलको व्यवस्था फरक फरक छ । हरेक ठाउँमा आफ्नो धर्म र जातअनुसारको फरक फरक परम्परा छ । २० वर्षसम्म विवाह गर्न नपाउने कानुनले उसले शिक्षा, स्वास्थ्यमा राम्रो हुन्छ भन्ने हो । मनोसामाजिक रूपमा उ तयार छ की छैन भन्ने हिसाबले पनि राखिएको हो । कसैले भनेको आधारमा प्रोग्रेसिभ कानुन बनाएका छौँ भने अब पछाडि पर्ने रिग्रेसिप कानुन बनाउनतिर लाग्नु हुँदैन ।’
उनले बालविवाहको दर घटाउन आम नागरिकलाई सुसूचित र सचेत गर्नुपर्ने जरुरी रहेको बताइन् । अन्तरपुस्ता बिचको समन्वय गरेर बालविवाहलाई रोक्न सबै एक भएर अभियानका रूपमा अघि बढाउनुपर्ने सरोकारवालाहरूले बताइन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने