बिरामी कुकुरलाई सेतीमा फाल्ने महिला पक्राउ

काठमाडौं । बझाङमा बिरामी अवस्थामा रहेको कुकुरलाई जिउँदै सेती नदीमा फालेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई नदीमा फालेको आरोपमा प्रहरीले स्थानीय ४२ वर्षीया विमलादेवी रोकायालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार करिब दुई सातादेखि बिरामी रहेको कुकुरको शरीरको पछिल्लो भागमा घाउ थियो। घाउबाट दुर्गन्ध आउन थालेपछि रोकायाले कुकुरलाई नदीमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कुकुरले घरनजिकको बाटो भएर हिँड्ने मानिसलाई टोक्न थालेपछि नदीमा फालिएको बयान रोकायाले दिएकी छन्।

प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी सानुराम भट्टराईका अनुसार पक्राउ परेकी रोकायाले कुकुरलाई यसरी फाल्दा कानुनी कारबाही हुनसक्नेबारे आफूलाई जानकारी नभएको बताएकी छन्। बिरामी कुकुरको उपचार सम्भव नभएको ठानेपछि नदीमा फालेको उनको बयान छ। गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालिएको थियो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ