चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा अहिले मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा भने औसत अवस्थाभन्दा दक्षिणतर्फ अवस्थित छ।

उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा न्यूनचापीय प्रणाली विकसित भएको छ। उक्त प्रणाली आगामी दिनमा थप सक्रिय हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल कोशी र बागमती प्रदेशका सबैजसो भूभागमा मौसम बदली भएको छ। गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा पनि बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा सामान्य बदली रहँदा मधेसमा आंशिक बदली देखिएको छ। अन्य भूभागमा भने मौसम मुख्यतः सफा रहेको छ।

यसैबीच कोशी र बागमतीका केही स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार हिमाली तथा पहाडी क्षेत्रसहित मधेस प्रदेश र बागमती तथा गण्डकीका तराई भूभागमा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ।

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

मधेससहित कोशी र बागमतीका तराई क्षेत्रमा पनि केही स्थानमा वर्षा हुन सक्नेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भन्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ