काठमाडौँ । सरोकारवालाहरूले दलित समुदायका मुद्धामा नेपाली मिडिया अझैपनि संवेदनशील नरहेको बताएका छन् ।
मंगलबार जागरण मिडिया सेन्टरले गरेको ‘मिडियामा दलित सहभागिता र चुनौती’ विषयक अन्तरसम्बाद कार्यक्रममा बोल्दै सरोकारवालाहरूले यस्तो बताएका हुन् । नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिदप्रसाद बागचन्दले मिडियाले भुँइमान्छेका कुरा लेख्न छोडेको भन्दै आलोचना गरे ।
‘सञ्चार माध्यमहरू सामाजिक मुद्धामा भन्दा पनि व्यापारमा ध्यान गइरहेको देखिन्छ । दलितको विषय न त सदनमा, न त सडकमा बोल्ने मान्छे छैन । पत्रकारले लेख्दा पनि स्थान पाउँदैन,’ उनले भने, ‘मिडियाले यो बिषय बिक्छ कि बिक्दैन भनेर एजेण्डा सेटिङ गरिरहेका छन् । समाज परिवर्तन मिडियाको केन्द्रमा छैन ।’
पूर्वराज्यमन्त्री आशाकुमारी बिकले मिडियाले दलित समुदायमाथि विभेद गर्ने गरेको अनुभव गर्ने सुनाइन् । ‘दलित समुदायबाट संसद्मा एक कार्यकाल बिताएँ । तर मिडियाले मलाई उपयुक्त ठाउँ दिए भन्ने महसुस भएन । हामीले महत्वपूर्ण विषय उठाए पनि सुनुवाइ हुँदैन,’ उनी भन्छिन्, ‘तर त्यही विषय सेलिब्रेटी सांसदले उठाए भने बोलिनसक्दै मिडियामा समाचार आइसक्छ ।’
पूर्वसांसद पार्वती बिशंखेले दलित समुदायका मुद्दाप्रति मिडिया सकारात्मक नरहेको बताइन् । ‘मिडियाले दलित समुदायका मुद्दाहरूलाई प्राथमिकता दिएर उठाउँदैनन् । वास्तवमा मिडियामा पनि समाजकै छायाँ व्याप्त देखिन्छ,’ उनले भनिन् ।
संविधान सभा सदस्य एवम् जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले दलित समुदायप्रति मिडियालाई संवदेनशील र जिम्मेवार बनाउन निरन्तर बहस पैरवी र पहलको खाँचो रहेको बताइन् ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन