विपद् जोखिम न्यूनीकरणमा नेपाल–युरोपेली युनियन सहकार्य विस्तार गर्ने प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र युरोपेली युनियनकी राजदूत महामहिम भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ।

भेटवार्ताका क्रममा युरोपेली युनियनको सहयोगमा नेपालमा सञ्चालन भइरहेका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विभिन्न परियोजनाको समीक्षा गरिएको छ।

साथै नेपालको विपद् व्यवस्थापन, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा विपद् जोखिम हस्तान्तरणका विषयमा छलफल भएको छ।

कार्यकारी प्रमुख डा. उप्रेतीले नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा युरोपेली युनियनले पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका क्षेत्रमा नेपाल र युरोपेली युनियनबीचको सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।

भेटमा राजदूत लोरेन्जोले जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा बढ्दै गएको हिमताल विस्फोटलगायतका जोखिमको वैज्ञानिक अध्ययन तथा आकलनमा सहयोग गर्ने बताउनुभयो।

उहाँले विपद्को जोखिममा रहेका समुदायको सुरक्षाका लागि विज्ञान तथा प्रविधिको प्रभावकारी उपयोग र विपद् जोखिम न्यूनीकरणको संस्थागत क्षमता विकासमा युरोपेली युनियनको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

भेटवार्ताले जलवायु परिवर्तनबाट सिर्जित बढ्दो विपद् जोखिमको सामना गर्न नेपाल र युरोपेली युनियनबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने आधार तयार गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ