काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट सञ्चालनको विषयमा ओमानमाथि पुनः कडा चेतावनी दिएका छन्।
इरानले उक्त महत्वपूर्ण जलमार्गबाट हुने जहाज आवागमन व्यवस्थापनका लागि ओमानसँग सहकार्य गरिरहेको बताइरहेका बेला ट्रम्पले ओमानले अवरोध सिर्जना गरे अमेरिकी सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका हुन्।
फक्स न्युजका पत्रकार त्रे यिङ्स्टसँगको कुराकानीमा ट्रम्पले ओमान ‘बाटोमा बाधक’ बने अमेरिकाले बमबारी गर्न सक्ने बताएका छन्। कुराकानीका क्रममा उनले आपत्तिजनक शब्दसमेत प्रयोग गरेको बताइएको छ। यद्यपि फक्स न्युजले उक्त अन्तर्वार्ताको अडियो सार्वजनिक गरेको छैन।
ओमानप्रति ट्रम्पको यस्तो अभिव्यक्ति यसअघि पनि आइसकेको छ। गत मे महिनामा मन्त्रिपरिषद्को बैठकका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले ओमानले अन्य मुलुकले जस्तै व्यवहार गर्नुपर्ने भन्दै त्यसो नगरे कडा कदम चाल्ने चेतावनी दिएका थिए।
यसैबीच इरानले होर्मुज स्ट्रेट सञ्चालनसम्बन्धी ओमानसँगको सहमतिलाई अन्तिम रूप दिने काम भइरहेको जनाएको छ। इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले तेहरानमा पत्रकारहरूसँग कुरा गर्दै जहाज आवागमनका लागि प्रयोग हुने पारगमन मार्गको नक्साबारे समझदारी भइसकेको जानकारी दिएका छन्।
प्रस्तावित व्यवस्थाअनुसार जहाजहरू इरानतर्फको मार्गबाट होर्मुज स्ट्रेट प्रवेश गर्ने र ओमानतर्फको मार्ग हुँदै बाहिरिने व्यवस्था हुन सक्ने बताइएको छ। अन्तरिम अवधिमा जहाज आवागमनमा कुनै शुल्क वा महसुल नलाग्ने व्यवस्था गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
अमेरिकाले भने इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने प्रक्रियाअघि होर्मुज स्ट्रेटलाई पूर्ण रूपमा खुला गर्ने विषयमा सहमति हुनुपर्ने अडान राख्दै आएको छ।
विश्वको तेल आपूर्तिको ठूलो हिस्सा ओसारपसार हुने होर्मुज स्ट्रेट पछिल्लो इरान–इजरायल–अमेरिका तनावका कारण अन्तर्राष्ट्रिय चासोको केन्द्र बनेको छ। फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि इरानले जलमार्गमा जहाज आवागमन नियन्त्रणमा लिएको बताइएको छ।
यता ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि तोकिएको ६० दिने समयसीमा बाध्यकारी नरहेको बताएका छन्। उनका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्ससँग वार्ताका लागि अप्रत्यक्ष अर्थात् ‘ब्याक च्यानल’ सम्पर्क भने कायम छ।
द्वन्द्व चर्किरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भने अमेरिका र इरानलाई पुनः वार्ताको टेबलमा फर्किन आग्रह गरेका छन्। राष्ट्रसङ्घका प्रवक्ता स्टेफान दुजारिकका अनुसार गुटेरेसले सैन्य माध्यमबाट यो संकटको दीर्घकालीन समाधान सम्भव नभएको बताएका छन्।
उनले दुवै पक्षलाई पछिल्ला दिनमा सार्वजनिक भएका उत्तेजक अभिव्यक्ति कम गर्दै तनाव घटाउने दिशामा अघि बढ्न आग्रह गरेका छन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
दिल्ली पुगे चीनका राष्ट्रपति