छालले हुत्याएर बाँचेका वासुदेव

काठमाडौँ । रसुवाको टिमुरेमा आएको विनाशकारी बाढीबाट माछापुच्छ्रे बैंकका अपरेसन इन्चार्ज वासुदेव आचार्य ज्यान जोगाउन सफल भएका छन्। तर, उनीसँगै टिमुरे शाखामा कार्यरत पाँच कर्मचारी भने अझै सम्पर्कविहीन छन्।

भदौ १० गते बिहान करिब पौने ९ बजे कोठामा अचानक कम्पन भएपछि भूकम्प आएको ठानेर आचार्य बाहिर निस्किएका थिए। त्यसै क्रममा माथिबाट ठूलो भेल आएको देखेपछि उनी ज्यान जोगाउन माथितिर भागेका थिए।

बाढीको छालले हुत्याएर कान्लामा पुर्‍याए पनि नलडेका कारण माथि उक्लिन सकेको उनले बताएका छन्। करिब डेढ घण्टा हिँडेर सुरक्षित स्थान पुगेका आचार्यलाई नेपाली सेनाको हेलिकप्टरले दिउँसो धुन्चे पुर्‍याएको थियो।

पछि थप उपचारका लागि काठमाडौँ ल्याइएका आचार्यको ट्रमा सेन्टरमा उपचार गरिएको थियो। टाउकामा दुई टाँका लगाइएको र बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएको उनले जानकारी दिए।

आचार्यका अनुसार शाखा प्रबन्धक भीमप्रसाद मैजु, कर्मचारी अनुज नेपाल र सविन महर्जन, मेसेन्जर पुनम ठाकुर तथा सुरक्षा गार्ड मिङमार तामाङ अझै सम्पर्कविहीन छन्।

बैंकको टिमुरे शाखा रहेको भवन खोलाबाट करिब १०० मिटरको दूरीमा रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ