शान्ति सम्झौताका बाँकी काम तत्काल पूरा गर्न प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताका बाँकी काम अविलम्ब पूरा गर्न सरकार, राजनीतिक दल र सरोकारवाला पक्षलाई आग्रह गरेका छन्।

विस्तृत शान्ति सम्झौता भएको दिन मंसिर ५ को अवसरमा सन्देश जारी गर्दै प्रचण्डले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु राष्ट्रिय आवश्यकता भएको बताएका हुन्।

२०६३ मंसिर ५ गते तत्कालीन सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा (माओवादी) का तर्फबाट आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै उनले उक्त सम्झौता नेपाली जनताको त्याग, बलिदान र सङ्घर्षबाट निर्मित राष्ट्रिय सहमतिको दस्तावेज भएको उल्लेख गरेका छन्।

‘विस्तृत शान्ति सम्झौताकै जगमा संविधानसभाको निर्वाचन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल भए। तर, सम्झौताका सबै प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैनन्,’ उनले सन्देशमा भनेका छन्।

विशेषगरी द्वन्द्वपीडितलाई न्याय दिने, सत्य निरुपण तथा मेलमिलापको प्रक्रिया टुङ्ग्याउने, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने तथा सङ्क्रमणकालीन न्यायका बाँकी काम पूरा गर्ने दायित्व अझै बाँकी रहेको उनको भनाइ छ।

शान्ति सम्झौताको मर्म द्वन्द्व अन्त्यमा मात्र सीमित नभई पीडितलाई न्याय, समाजमा मेलमिलाप र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण गर्नु रहेको उनले स्पष्ट पारेका छन्।

प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिद तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्। साथै, शान्ति प्रक्रियामा योगदान पुर्‍याउने राजनीतिक दल, नागरिक समाज, सुरक्षाकर्मी र आम नागरिकप्रति आभार प्रकट गरेका छन्।

शान्ति सम्झौता राष्ट्रिय प्रतिबद्धता भएकाले यसको पूर्ण कार्यान्वयन गर्नु सबैको साझा जिम्मेवारी भएको उनले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ