संविधान र लोकतन्त्रको रक्षाका लागि जनता उठ्नुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रमाथि प्रहार भइरहेको दाबी गर्दै त्यसको रक्षाका लागि नेपाली जनता उठ्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले मुलुक राजनीतिक भय र त्रासको वातावरणबाट स्वेच्छाचारी शासनतर्फ अघि बढिरहेको आरोप लगाए। सरकार जनताप्रति उत्तरदायी नभएको र देश आर्थिक तथा सामाजिक रूपमा अधोगतितर्फ गएको उनको दाबी थियो।

जेनजी आन्दोलनको प्रसंग उठाउँदै ओलीले विद्यार्थीलाई धोका दिएर सडकमा उतारिएको र तालिमप्राप्त अपराधीबाट सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी र लुटपाट भएको आरोप लगाए। आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको घटनामा गोली चलाउने र जिम्मेवार व्यक्तिको पहिचान हुनुपर्ने उनको भनाइ थियो।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा टुंगो नलागेको तथा राज्यका निकायले प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै उनले असन्तुष्टि जनाए। प्रधानमन्त्रीको संसद्मा व्यक्त सीमासम्बन्धी अभिव्यक्तिप्रति पनि उनले आपत्ति जनाए।

संविधान संशोधन गर्न सकिने भए पनि संविधान मिच्ने र नमान्ने कार्य स्वीकार्य नहुने ओलीले बताए। राष्ट्रियता, लोकतन्त्र, संविधान र जनताको अधिकार रक्षाका लागि एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

वर्तमान राजनीतिक परिस्थितिमा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याउँदै ओलीले त्यसको अगुवाइ एमालेले गर्नुपर्ने बताए।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ