एमालेको राष्ट्रिय भेला सुरु, स्थानीय निर्वाचनको तयारी मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु भएको छ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु भएको भेलामा सहभागी हुन देशभरबाट नेता तथा प्रतिनिधि काठमाडौं आइपुगेका छन्।

पार्टीको राष्ट्रिय राजनीतिक दिशा तय गर्न र आगामी स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

उनका अनुसार हिजो बसेको पार्टी स्थायी कमिटी बैठकले भेलाका एजेन्डा अनुमोदन गरेको छ। भेलामा असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनमा एकरूपता कायम गर्ने तथा पार्टीले गर्नुपर्ने १५ वटा कामका विषयमा छलफल हुनेछ।

भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठन तथा केन्द्रीय निकायका प्रतिनिधि, संघीय र प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी छन्।

भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटनसहित सम्बोधन गर्ने कार्यक्रम छ। त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ