नेपालको राजनीतिलाई सही दिशामा लैजाने जिम्मेवारी नेकपा : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीतिलाई सही दिशामा अघि बढाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको बताएका छन्।

शनिबार भक्तपुरमा पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै उनले देश, जनता र समाजको रूपान्तरणका लागि पार्टीले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए।

नेपाली राजनीतिमा विभिन्न दल आन्तरिक समस्यामा फसेको उल्लेख गर्दै नेपालले कतिपय पार्टी विभाजनको अवस्थामा पुगेको र कतिपय आफ्नै समस्याका कारण कमजोर बनेको टिप्पणी गरे। यस्तो अवस्थामा नेपाली कम्युनिस्ट पार्टीप्रति जनताको आशा र अपेक्षा बढेको उनको दाबी छ।

आफ्नो पार्टीमा तीन जना पूर्वप्रधानमन्त्री रहेको उल्लेख गर्दै उनले पार्टी संयोजक ‘प्रचण्ड’ले नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। विगतमा पार्टीले खेलेको भूमिकाका आधारमा पनि मुलुकको राजनीतिलाई सही दिशामा अघि बढाउन सक्ने विश्वास उनले व्यक्त गरे।

नेपालले न्यायको पक्षमा आवाज उठाउनुका साथै अरूलाई पनि अन्यायविरुद्ध बोल्न प्रेरित गर्नुपर्ने बताए। समाजमा न्याय र परिवर्तनका लागि कम्युनिस्ट पार्टी आफैँले अगुवाइ गर्नुपर्ने उनको भनाइ थियो।

मुलुकको रूपान्तरणका लागि राजनीतिक नारा र आश्वासन मात्र पर्याप्त नहुने भन्दै उनले नयाँ समाजको स्पष्ट परिकल्पना र त्यसलाई व्यवहारमा उतार्ने ठोस योजना आवश्यक रहेको बताए।

नयाँ समाजको सपना देख्ने, त्यसको रूपरेखा तयार गर्ने र त्यसलाई वास्तविकतामा परिणत गर्न योजनाबद्ध रूपमा काम गर्नेहरूले मात्रै समाज परिवर्तनमा योगदान दिन सक्ने उनको भनाइ थियो।

उनले देश, जनता र समाजप्रतिको जिम्मेवारीबोधका साथ परिवर्तनको अभियानमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ