काठमाडौं । मधेशका नेता स्वर्गीय गजेन्द्रनारायण सिंहको शालिकमा परैबाट माला फ्याँकेर हिँडेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साह विवादमा परेका छन् ।
मंगलबार सप्तरी सदरमुका राजविराज आउँदा सन रुफसहितको गाडीबाटै हात हल्लाउँदै गजेन्द्रनाराणको शालिकतिर माला फ्याँकेपछि उनी विवादमा परेका हुन् ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता तान्न तराई-मधेशमा दोस्रो पटक छिरेका उनी दक्षिण भारतीय फिल्मको शैलीमा देखिएका थिए ।
बालेन आउने भएपछि मंगलबार बिहानैदेखि सडकमा सयौँ सर्वसाधारण र रास्वपा कार्यकर्ता जम्मा भएका थिए । जब उनी राजविराजस्थित गजेन्द्र चोक पुगे तब उनी त्यहाँ ओर्लिने अपेक्षा थियो ।
तर, उनी सन रुफवाला गाडीबाट झरेनन् । दक्षिण भारतीय हिरोको शैली पछ्याउँदै उनी हात हल्लाउँदै, हात मिलाउँदै गाडीमा अघि बढिरहे ।
गजेन्द्रनारायण सिंह (गजेन्द्र बाबु) को शालिकमा माल्यार्पणका लागि उनलाई मालासमेत उपलब्ध गराइएको थियो । तर उनी गाडीबाट नझरी सन रुफमै निस्किएर माला शालिकतिर फ्याँक्दै हिँडे ।
बालेनले गजेन्द्रनारायणको शालिकमा माल्यार्पण त गरेनन् पार्टी कार्यालयमा समेत झर्ने जाँगर चलाएनन् । उनले गजेन्द्रनारायणको शालिकमा माला फ्याँकेर अघि बढेपछि समर्थकहरू रिसाएका छन् ।
गजेन्द्रनारायणको शालिकमा बालेनले सम्मान प्रकट गर्ने अपेक्षाविपरीत नरोकिई हिँडेपछि घण्टौँ कुरेका समर्थकमा निराशा देखिएको छ ।
यसैबीच उनको यो गतिविधिलाई लिएर नागरिक उन्मुक्ति पार्टी नेपालका नेता जीवछ यादवले आपत्ति प्रकट गरेका छन् । उनले मधेशको माटो र संवेदनामाथि फेरि एक पटक प्रहार भएको उल्लेख गरेका छन् ।
‘मधेशको माटो, मधेशको संवेदना र मधेशका आदर्शहरूमाथि पटक-पटक प्रहार हुनु अब ‘भूल’ मात्र रहेन, यो त रास्वपाको एउटा सोचि-सम्झी रचिएको ‘साजिस’ जस्तै देखिन थालेको छ’, उनले भनेका छन्, ‘राजविराज पुगेर गजेन्द्र नारायण सिंह जस्तो उचाइ भएको व्यक्तित्वको शालिकमा गाडीबाटै माला निशाना लगाएर फ्याँक्ने ? के गजेन्द्र बाबुको सम्मान गर्न दुई मिनेट गाडीबाट ओर्लिने फुर्सद वा संस्कार थिएन?’
उनले काठमाडौंका पूर्वमेयरको यो गतिविधिप्रति असन्तुष्टि जनाएका छन् । ‘कि काठमाडौंको बालेन मधेशको धर्तीमा ओर्लिँदा सान घट्छ भन्ने दम्भ हो?’, उनले सोधेका छन्, ‘शालिकमा माला लगाउनु श्रद्धा हो, ‘टार्गेट प्राक्टिस’ होइन बालेनजी ।’








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री