काठमाडौँ । उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।
बिहानैदेखि सवारीसाधन कुर्दा पनि टिकट नपाएको र ‘रिजर्भ’ गाडीले सर्वसाधारण नबोकेको उनीहरूले गुनासो गरेका हुन् । ओखलढुंगाका कुलबहादुर थापाले विद्यालयमा कार्यरत रहेकाले ढिलो बिदा पाएको र व्यक्तिगत सवारी साधन नभएकाले सार्वजनिक यातायातकै भर पर्नुपरेको बताए ।
उनले बुधवार बिहानैबाट ओखलढुङ्गा जान गाडी कुरेपनि नपाएको बताए । उनकाअनुसार अधिकांश गाडीमा ‘रिजर्भ’ लेखिएको छ र ती गाडीले सर्वसाधारण बोक्न मानेका छैनन् । बस काउन्टरमा जाँदा दल र उनीहरूका नेतासँग सम्पर्क गर्नुस्, टिकट पाइँदैन भनेर आफूलाई पठाएको र अब भोट हाल्न जान नपाइने अवस्था आएको थापाले गुनासो गरे ।
सर्वसाधारण थापाले भने – ‘म एउटा स्कुलमा जागिर गर्छु । त्यो स्कुलले हिजोसम्म पनि बिदा दिएन । मेरो व्यक्तिगत साधन छैन । ओखलढुंगाका लागि आज २० गतेसम्म गाडीहरू पाइन्छन् भने सार्वजनिक यातायात चढेर भोट हाल्न घर जान खोजेको गाडी नै पाइएन । बिहान ४ बजेदेखि गाडी कुरेको अहिलेसम्मपनि गाडी पाइन । गाडीहरू रिजर्भ बाहेक केही लेखेको छैन । रिजर्भ गाडीहरूले हामीहरूलाई लगेनन् । बस काउन्टरमा जाँदा दल र उनीहरूका नेताहरू सम्पर्क गर्नुस् टिकट पाइँदैन भने । अब भोट हाल्न जान नपाइने भयो ।’
कास्कीका दिलीप महतले पनि राजनीतिक दलहरूले आफ्ना समर्थकलाई प्राथमिकता दिएर गाडी रिजर्भ गरेर लैजाँदा समस्या भइरहेको बताए । उनकाअनुसार त्यसरी भोट हाल्न जानेहरूले पनि धेरै दुःख पाइरहेका छन् । दलहरूले सबैजसो गाडी रिजर्भ गर्दा भोटलिस्टमा नाम भएका आफ्ना पार्टीका मान्छेलाई मात्रै गाडी पठाएर लगिरहेको उनले बताए ।
उनकाअनुसार सर्वसाधारणले सवारी नपाउँदा कतिपय मतदाता मतदानबाट वञ्चित हुने अवस्था देखिएको छ ।
महतले भने –‘हिजोआज उपत्यका छाड्नेहरू धेरै दुःखले भोट हाल्न गएका छन् । भोटलिस्टमा नाम भएका आफ्ना पार्टीका मान्छेहरूलाई मात्रै दलहरूले लिएर गएका छन् । आफ्ना पार्टीका मान्छेलाई मात्रै दलहरूले गाडी पठाएर लगिरहेका छन् । धेरै सर्वसाधारणले भोट हाल्न जान सवारी नै पाएका छैनन् । जसकारण कतिपय भोट हाल्न जान नपाउने अवस्था छ ।’
रामेछापका कुमार बस्नेतले भने सिट नपाए पनि गाडी भने पाइएको बताए । राजनीतिक दलका नेताहरूले रिजर्भका गाडीमा जानुपर्छ भने पनि आफूले अस्वीकार गरेको बताए । बिना टिकट पनि गाडी पाइएको र आफू भोट हाल्न गाउँ जान लागेको उनले सुनाए ।
बस्नेतले भने ‘मैले भोट हाल्न घर जानका लागि टिकट काटेको थिइन । पार्टीहरूले हाम्रा गाडीहरूमा जानुपर्छ भनेका थिए तर म गइन । तर बिना टिकट पनि गाडी पाएँ । भोट हाल्न घर जाँदैछु ।’
सरोकारवालाहरुकाअनुसार निर्वाचनको मुखैमा सार्वजनिक यातायात व्यवस्थापन र दलहरूको संलग्नताबारे उठेका यी गुनासोप्रति सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिएको छ । सर्वसाधारण मतदाताले सहज रूपमा मतदान केन्द्रसम्म पुग्न पाउने अधिकार सुनिश्चित गर्न यातायात व्यवस्थापन पारदर्शी हुन जरुरी छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री