मुगु । जिल्लामा आयुर्वेद उपचारप्रति नागरिकको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ । सदरमुकाम गमगढीस्थित आयुर्वेद औषधालयमा पछिल्लो तीन वर्षयता उपचारका लागि आउने बिरामीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको पाइएको छ ।
जिल्ला अस्पताल ठिनी नजिकै आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना भएपछि स्थानीयले सेवा–सुविधाबारे जानकारी पाउन थालेका छन् । त्यसयता आयुर्वेद उपचार गराउने र औषधि लिने बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको केन्द्रले जनाएको छ ।
केन्द्रका सूचना अधिकारी लक्ष्मीप्रसाद पाण्डेका अनुसार विशेषगरी दीर्घरोगी र ज्येष्ठ नागरिकले बढी सेवा लिने गरेका छन् । ग्यास्ट्रिक, पेट दुख्ने, खाना नपच्ने, दम, बाथरोग तथा जोर्नीसम्बन्धी समस्याका बिरामीको संख्या उच्च रहेको छ । पहिले आयुर्वेदप्रति कम विश्वास गर्नेहरू समेत अहिले उपचारका लागि आउने क्रम बढेको उनले बताए ।
उनका अनुसार केन्द्रमा आउने अधिकांश बिरामी पेटसम्बन्धी समस्याबाट पीडित हुने गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा १५ हजार ९ सय ४६ जनाले सेवा लिएका थिए भने चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म ९ हजार ४ सय ५१ जनाले सेवा लिइसकेका छन् ।
केन्द्रमा पायल्स रोगका बिरामीका लागि क्षारसूत्र विधिबाट शल्यक्रिया सेवा उपलब्ध छ । स्वास्थ्य विभागबाट सिफारिस गरिएका ३५ प्रकारका औषधिमध्ये २३ प्रकारका औषधि निःशुल्क वितरण हुँदै आएको छ ।
साथै अक्युपञ्चर, श्वासप्रश्वास, रक्तचाप, महिलाको महिनावारी समस्या तथा सेतोपानी सम्बन्धी उपचारका लागि दैनिक २० देखि ३० जना बिरामी आउने गरेका छन् ।

कार्यालय प्रमुख डा. रुपेश सोनामका अनुसार केन्द्रले प्रयोगशाला सम्बन्धी सबै सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ । प्रत्येक आइतबार बिहान ८ बजेदेखि नियमित सेवा सञ्चालन हुने व्यवस्था गरिएको छ ।
स्थानीय स्तरमा पाइने जडीबुटीको प्रयोग, आयुर्वेद तथा योग शिक्षा, स्वस्थ जीवनशैलीसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएपछि नागरिकको आकर्षण थप बढेको उनले बताए ।
मुगमकार्मारोङ, सोरु, खत्याड गाउँपालिका तथा छायाँनाथ रारा नगरपालिकाका विभिन्न स्थानमा नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा विस्तार गरिएको छ ।
स्थानीय दत्त मल्लले लामो समयदेखि शरीर दुख्ने र चिलाउने समस्या आयुर्वेद उपचारबाट निको भएको अनुभव सुनाए ।
आयुर्वेदप्रतिको विश्वास बढ्दै जाँदा मुगुमा वैकल्पिक उपचार प्रणाली प्रभावकारी बन्दै गएको देखिएको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
स्तन क्यान्सरविरुद्ध जनचेतनाका लागि ‘पिंकवाक २०२६’ सम्पन्न