काठमाडौं । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप जस्ता विश्वचर्चित एपहरूको अभिभावक कम्पनी मेटाले समुन्द्रमुनि केबल नेटवर्क निर्माण गर्ने योजना बनाएको छ । टेकक्रन्चको एक रिपोर्ट अनुसार मेटाले ४० हजार किलोमिटर लामो फाइबर अप्टिक सबमरिन केबल निर्माण गर्ने योजना ल्याएको हो ।
सुरुवाती चरणमा कम्पनीले करिब दुई अर्ब अमेरिकी डलर लगानी गर्ने बताइएको छ । परियोजना अघि बढेसँगै यसको लागत १० अर्ब डलर (साढे १३ खर्ब रुपैयाँ बढी) सम्म पुग्ने अनुमान छ । मेटाले सन् २०२५ को सुरुवातमा यो परियोजनाको रुट, क्षमता र उद्देश्यबारे जानकारी दिने अपेक्षा गरिएको छ । विशेषज्ञहरूका अनुसार मेटाको पूर्ण स्वामित्वको यस केबल नेटवर्क सञ्चालनमा आउन केही वर्ष लाग्न सक्छ । योजना सफल भए मेटाले आफ्नै डेडिकेटेड रुट प्रयोग गरी विश्वभर उच्च स्तरको इन्टरनेट सेवा प्रदान गर्नेछ ।
रिपोर्टअनुसार मेटाको यो केबल पूर्वी अमेरिकाबाट सुरु भई भारत, दक्षिण अफ्रिका हुँदै अष्ट्रेलियाबाट फर्केर पश्चिमी अमेरिकासम्म फैलनेछ । यस परियोजनाले मेटालाई डेटा पूर्वाधारमा बलियो बनाइ विभिन्न भू–राजनीतिक संकटबाट पनि बचाउने विश्लेषण गरिएको छ । यसका लागि मेटाले रणनीतिक रूपमा सुरक्षित मार्गहरू पहिचान गरी केबल निर्माणको काम अगाडि बढाउन ध्यान दिनेछ ।
योसँगै मेटाले आफूलाई सोसल मिडिया प्लेटफर्मको रूपमा मात्र नभइ विश्वकै मुख्य पूर्वाधार कम्पनीको रूपमा चिनाउन चाहेको संकेत दिएको छ । हाल मेटा अन्तर्गतका प्लेटफर्महरूमा आबद्ध अरबौं प्रयोगकर्ताले १० प्रतिशत फिक्स्ड र २२ प्रतिशत मोबाइल ट्राफिक ओगट्छन् । यसलाई अझ प्रभावकारी बनाउन आफ्नै इन्टरनेट संरचना निर्माण गर्न तम्सिएको मेटा महत्त्वाकांक्षी योजनामा कत्तिको सफल होला, त्यो भविष्यले नै बताउला ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने