काठमाडौं । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले विगतका सरकारका असफलताबाट पाठ सिकेर अघि बढ्न प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन् ।
बुधबार काठमाडौंको बबरमहलस्थित सडकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भुसालले प्रधानमन्त्री साह शक्तिशाली अवस्थामा रहेको उल्लेख गर्दै गल्ती गर्ने छुट नभएको बताएका हुन् । उनले विगतमा केपी ओलीलाई पनि सत्तामा रहँदा गल्ती नगर्न सुझाव दिएको स्मरण गर्दै त्यसलाई बेवास्ता गर्दा गम्भीर परिणाम भोग्नुपरेको दाबी गरे ।
भुसालले प्रधानमन्त्री साहले पनि त्यही बाटो दोहोर्याएमा उस्तै अवस्था आउन सक्ने चेतावनी दिए । ‘तपाईं जति शक्तिशाली हुनुहुन्छ, यदि गल्ती गर्नुभयो भने धेरै चाँडै तपाईंमाथि संकट आउन सक्छ,’ उनले भने ।
उनले वर्तमान सरकार असफल भए त्यसको असर केवल सत्तापक्षमा मात्र सीमित नहुने, समग्र देश र नागरिकले मूल्य चुकाउनुपर्ने बताए । ‘सरकार असफल हुँदा कसैले प्रतिपक्षको हिसाबले खुशी मनाउन सक्छन्, तर यसको मूल्य सबैले तिर्नुपर्छ,’ उनले उल्लेख गरे ।
भुसालले २०७६ सालतिर आफूले तत्कालीन प्रधानमन्त्री ओलीलाई व्यक्तिगत रूपमा सचेत गराएको प्रसंग पनि सुनाए । लोकप्रियताको उच्च विन्दुमा रहेका बेला नै ओलीको राजनीतिक दिशा गलततर्फ जान थालेको आफूले देखेको र सचेत गराउँदा त्यसलाई बेवास्ता गरिएको उनले बताए ।
उनले इतिहासबाट पाठ सिक्न आग्रह गर्दै सत्ता र शक्तिको दुरुपयोग नगर्न प्रधानमन्त्री साहलाई सचेत गराए । ‘इतिहासलाई गिज्याउने काम नगर्नुहोस्, त्यसबाट सिक्नुहोस्,’ उनले भने ।
भुसालले आफ्नै असफलताबाट समेत नयाँ नेतृत्वले सिकेर सफल भए आफू त्यसलाई गर्वका रूपमा लिने बताए । साथै, कुनै पनि शक्तिशाली शासकले विगतका कमजोरीबाट पाठ नलिए नागरिकले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउनेतर्फ पनि उनले ध्यानाकर्षण गराए ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री