काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको कार्यशैली र बैठकमा उनको निरन्तर अनुपस्थितिलाई लिएर आपत्ति जनाउँदै बैठक बहिष्कार गरेका छन् ।
प्रधानमन्त्री स्वयं उपस्थित भई जबाफदेही हुनुपर्ने विषयहरूमा अन्य प्रतिनिधि पठाउने गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष साम्पाङले देशमा प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थिति र सक्रियता नदेखिएको टिप्पणी गरे । अध्यक्ष साम्पाङले सत्तापक्षले संसदीय प्रक्रियामा एकलौटी ढंगले काम गरिरहेको आरोप समेत लगाए । विशेषगरी नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा पर्याप्त छलफल गर्ने समय नदिई दस्ताबेजहरू अध्ययनका लागि अत्यन्तै कम समय उपलब्ध गराइएको उनको दाबी छ ।
उनले भने ‘प्रधानमन्त्री आफैँ उपस्थित हुनुपर्ने र टेबल गर्नुपर्ने विषयहरूमा अरूलाई पठाउने गरिएको छ । मुलुकमा प्रधानमन्त्री नै नभएको जस्तो आभास भएकाले हामीले विरोधस्वरूप बैठक बहिष्कार गरेका हौँ । आज ठेलीका ठेली किताब दिने र भोलि नै पढेर आउनु भन्ने शैली उचित छैन । नीति तथा कार्यक्रम र बजेट जस्ता गम्भीर विषयमा पनि पर्याप्त समय दिइएको छैन ।’
आफ्नो दल बैठकबाट बाहिरिएको जानकारी दिँदै साम्पाङले अन्य दलहरूले पनि विरोध जनाइरहेको र उनीहरू पनि बाहिरिने क्रममा रहेको बताए । सरकारले प्रतिपक्षी आवाजलाई बेवास्ता गर्न खोजेको संकेत गर्दै उनले प्रतिपक्षीलाई कसैले दबाउन नसक्ने चेतावनी दिए । जनप्रतिनिधिले उठाएका यी विषय र सरकारको कार्यशैलीको मूल्याङ्कन आम जनताले गर्ने उनले उल्लेख गरे ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री