काठमाडौं । चीनमा उच्च शिक्षा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीलाई सूचना, परामर्श तथा सहजीकरण उपलब्ध गराउने उद्देश्यले नेपाली विद्यार्थी संगठन (NSO China) ले काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरेको छ।
बुढानीलकण्ठ नगरपालिका–३ स्थित रैथाने कृषि तथा कोसेली घर परिसरमा स्थापना गरिएको सम्पर्क कार्यालयको उद्घाटन गर्दै NSO China का अध्यक्ष मनोज भट्टले चीनमा उपलब्ध शैक्षिक अवसरलाई काठमाडौं तथा ठूला सहरमा मात्र सीमित नराखी देशका गाउँगाउँसम्म पुर्याउने अभियान सञ्चालन गरिने बताए।
अध्यक्ष भट्टले ग्रामीण क्षेत्रका विद्यार्थी तथा अभिभावकसम्म चीनको शिक्षा, छात्रवृत्ति, विश्वविद्यालय र अध्ययनका अवसरबारे पर्याप्त सूचना पुग्न नसकेको बताए। सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत गाउँका विद्यार्थीलाई समेत अन्तर्राष्ट्रिय शिक्षाका अवसरबारे जानकारी गराउनुपर्नेमा उनले जोड दिए।
‘अहिले विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडालगायतका देशमा अध्ययन गर्न बढी आकर्षित छन्। तर विद्यार्थी र अभिभावकलाई सबै विकल्पबारे सही सूचना दिनुपर्छ। चीनको शिक्षा पनि नेपाली विद्यार्थीका लागि महत्वपूर्ण र व्यावहारिक अवसर हो,’ भट्टले भने।
उनका अनुसार छात्रवृत्तिमार्फत चीनमा अध्ययन गर्ने अवसर पाए विद्यार्थी तथा अभिभावकमाथिको आर्थिक भार घट्नुका साथै विद्यार्थीमाथिको मानसिक दबाबसमेत कम गर्न सकिन्छ। कम आर्थिक बोझमा गुणस्तरीय शिक्षा हासिल गर्न सकिने भएकाले चीन नेपाली विद्यार्थीका लागि उपयुक्त गन्तव्य बन्न सक्ने उनको भनाइ छ।
भट्टले NSO China को उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र नभई विदेशबाट ज्ञान, सीप, प्रविधि, अनुसन्धान र अनुभव नेपाल भित्र्याउने वातावरण निर्माण गर्नु रहेको बताए।
‘हाम्रो उद्देश्य विद्यार्थीलाई चीन पठाउने मात्र होइन, त्यहाँबाट सिकेको ज्ञान, सीप र प्रविधि नेपालमा ल्याएर देश निर्माणमा योगदान गर्ने वातावरण बनाउनु हो,’ उनले भने।
भाषा चुनौती भए पनि अवसर प्रशस्त
चीनमा अध्ययनका लागि भाषाको समस्या देखिए पनि त्यसलाई मुख्य बाधाका रूपमा लिन नहुने अध्यक्ष भट्टले बताए। चिनियाँ विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अंग्रेजी माध्यमबाट अध्ययन गर्न सकिने विभिन्न अवसर रहेको उल्लेख गर्दै उनले आवश्यकताअनुसार चिनियाँ भाषा सिक्ने वातावरणसमेत उपलब्ध हुने बताए।
‘भाषा चुनौती हुन सक्छ, तर इच्छाशक्ति र मेहनत भयो भने त्यसलाई पार गर्न सकिन्छ। भाषाकै कारणले चीनमा अध्ययन गर्ने अवसरबाट पछि हट्नु हुँदैन,’ भट्टले भने।
२०२७ को इन्टेकलाई लक्षित गर्दै पूर्वतयारी
NSO China ले आगामी २०२७ को इन्टेकलाई लक्षित गरी तीन–चार महिनाअघिदेखि नै विद्यार्थीका लागि पूर्वतयारी सुरु गर्ने जनाएको छ।
यसअन्तर्गत इच्छुक विद्यार्थीको तथ्यांक संकलन, शैक्षिक रुचि पहिचान, विषय तथा विश्वविद्यालय छनोट, छात्रवृत्तिका अवसर र आवेदन प्रक्रियाबारे आवश्यक जानकारी तथा परामर्श प्रदान गरिनेछ।
संस्थाले हाल अनलाइन माध्यमबाट सूचना तथा परामर्श दिँदै आए पनि विद्यार्थी तथा अभिभावकसँग प्रत्यक्ष संवाद गर्न भौतिक सम्पर्क कार्यालय स्थापना गरिएको जनाएको छ।
‘केवल अनलाइन सूचना दिएर मात्र पुग्दैन। विद्यार्थी र अभिभावकसँग प्रत्यक्ष भेटेर उनीहरूको जिज्ञासा समाधान गर्न र सही विषय तथा विश्वविद्यालय छनोटमा सहयोग गर्न भौतिक केन्द्र आवश्यक छ,’ भट्टले भने।
कलेज तथा विश्वविद्यालयसँग सहकार्य गर्ने योजना
NSO China ले आगामी दिनमा नेपालका कलेज तथा विश्वविद्यालयसँग सहकार्य गर्ने, शैक्षिक अन्तरक्रिया तथा सेमिनार सञ्चालन गर्ने र चीनमा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई आवश्यक परामर्श तथा सहजीकरण उपलब्ध गराउने योजना बनाएको छ।
अध्यक्ष भट्टले छात्रवृत्तिमार्फत विद्यार्थी चीनमा अध्ययन गर्न गए परिवारको आर्थिक भार घट्नुका साथै विदेश अध्ययनका नाममा बाहिरिने ठूलो रकमसमेत बचत गर्न सकिने बताए।
‘हामीले विद्यार्थीको भविष्य बनाउनुपर्छ, परिवारलाई आर्थिक रूपमा बलियो बनाउनुपर्छ र विदेशबाट ज्ञान तथा सीप नेपाल भित्र्याउनुपर्छ,’ उनले भने, ‘हामी पनि बन्नुपर्छ, हाम्रा विद्यार्थी पनि बन्नुपर्छ र सँगसँगै देश पनि बन्नुपर्छ।’
NSO China को सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, विद्यार्थी, अभिभावक तथा संस्थासँग आबद्ध सदस्यहरूको सहभागिता रहेको थियो।
संस्थाले ‘गुणस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय ज्ञान र सीप लिएर नेपाल निर्माणमा योगदान’ गर्ने दीर्घकालीन सोचसहित आफ्ना गतिविधिलाई देशका गाउँगाउँसम्म विस्तार गर्ने जनाएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु