काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले आफू र आफ्नो परिवारमाथि लगाइएका आर्थिक अनियमिततासम्बन्धी आरोपप्रति आपत्ति जनाएकी छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै दाहालले केही समयदेखि आफूहरूसँग दुबईमा ४० अर्ब रुपैयाँ रहेको तथा नेपालका ठूला घरजग्गा र भाटभटेनीलगायतका व्यवसायमा स्वामित्व रहेको भन्दै आरोप लगाइएको बताएकी छन्।
उनले ती आरोपको पुष्टि नभएपछि अहिले ४० अर्बको ठाउँमा ५० करोड रुपैयाँको हल्ला चलाउन खोजिएको दाबी गरेकी छन्। अफवाह फैलाउनेहरूलाई त्यसको पुष्टि गर्न सार्वजनिक चुनौतीसमेत दिएकी छन्।
दाहालले आफू र आफ्नो परिवार संविधान तथा कानुनबमोजिम हुने जुनसुकै निकायको छानबिनका लागि तयार रहेको बताएकी छन्। गलत गरेको पुष्टि भए कानुनी कारबाही भोग्न तयार रहेको उल्लेख गर्दै उनले बिनाप्रमाण लगाइने आरोप भने स्वीकार्य नहुने स्पष्ट पारेकी छन्।
‘हामीले हाम्रो सम्पत्ति विवरण सरकारसमक्ष केही समयअघि नै बुझाइसकेका छौँ,’ उनले लेखेकी छन्, ‘सरकारले गर्ने जुनसुकै अनुसन्धानका लागि हाम्रो सहयोग रहनेछ।’
आफूहरू मृत्युको मुखबाट बाँचेर आएको उल्लेख गर्दै दाहालले जनतालाई धोका नदिनु आफ्नो राजनीतिक संस्कार भएको दाबी गरेकी छन्। व्यक्तिगत जीवनसमेत नभनी बुवालाई छोरीको नाताले सहयोग गर्नु नै आफ्नो अपराध हो त भन्दै उनले समाजका अगुवा तथा आमाबुवासमेतलाई प्रश्न गरेकी छन्।
उनले आफू र आफ्नो परिवारबाट कुनै आर्थिक गलत गतिविधि वा पदको दुरुपयोग नभएको दाबी गर्दै आगामी दिनमा पनि त्यस्तो कार्य नहुने बताएकी छन्।
दाहालले राजनीतिक प्रतिशोध र विरोधको पनि सीमा हुने भन्दै बारम्बार यस्ता आरोप तथा अफवाह फैलाउनुको उद्देश्यबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
उनले अन्त्यमा सर्वसाधारणलाई कुनै पनि भ्रममा नपर्न आग्रह गर्दै आफूहरूमाथि लगाइएका सबै प्रकारका आर्थिक अनियमिततासम्बन्धी आरोप अस्वीकार गरेकी छन्।








विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी