बर्दियाका दलितलाई स्वराेजगार बनाउन बाँस उद्यमशीलता कार्यक्रम सुरु

बाँसगढी । बर्दियाको बाँसगढी नगरपालिका–८, जुरैना टोलमा बाँस उद्यमशीलता विकास कार्यक्रमको शुभारम्भ तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमसँगै वृक्षारोपणसमेत गरिएको छ।

आदिवासी जनजाति तथा स्थानीय समुदायमा समर्पित अनुदान संयन्त्र (डीजीएम) नेपालको सहयोग तथा सिर्जनशील दलित उद्यमशीलता समूहको सहकार्यमा राष्ट्रिय दलित नेटवर्क नेपालले कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रमको मुख्य उद्देश्य स्थानीय दलित, महिला तथा अन्य सीमान्तकृत समुदायलाई बाँसमा आधारित उद्यममार्फत सीप, रोजगारी र दिगो आयआर्जनका अवसरसँग जोड्नु रहेको आयोजकले जनाएको छ।

बाँस खेती, प्रशोधन तथा बाँसजन्य सामग्री उत्पादनलाई स्थानीय समुदायको जीविकोपार्जनको दिगो माध्यमका रूपमा विकास गर्ने लक्ष्य कार्यक्रमले लिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय दलित नेटवर्क नेपालकी महासचिव एवं प्रमुख अतिथि पार्वती आग्रीले दलित समुदायको सामाजिक तथा आर्थिक रूपान्तरणका लागि बाँसमा आधारित उद्यमशीलताको सम्भावना महत्वपूर्ण रहेको बताइन्।

उनले बाँसमा आधारित हरित सीप, उत्पादन तथा उद्यमशीलताको विकाससँगै स्थानीय स्तरमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सकिने बताइन्। बाँस खेतीदेखि प्रशोधन र बाँसजन्य सामग्री उत्पादनसम्मका गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउन सके स्थानीय महिला तथा दलित समुदायको आर्थिक सशक्तीकरणमा योगदान पुग्ने उनको भनाइ थियो।

राष्ट्रिय दलित नेटवर्क नेपालका सल्लाहकार नन्द विश्वकर्माले परियोजनाअन्तर्गत सञ्चालन हुने प्राविधिक मार्गदर्शन, सीप विकास तथा क्षमता अभिवृद्धिका कार्यक्रमबारे जानकारी दिए।

उनका अनुसार सहभागीलाई आधुनिक बाँस खेती प्रविधि, बाँस प्रशोधन, उत्पादन विविधीकरण, उद्यम व्यवस्थापन तथा बजार व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिनेछ।

राष्ट्रिय दलित नेटवर्क नेपालका कार्यकारी निर्देशक हुकुमबहादुर सार्कीले परियोजनाको उद्देश्य, अपेक्षित उपलब्धि र कार्यान्वयन प्रक्रियाबारे जानकारी प्रस्तुत गरे।

कार्यक्रम सिर्जनशील दलित उद्यमशीलता समूहका अध्यक्ष प्रेमबहादुर सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो। समूहकी कोषाध्यक्ष लिला विकले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा कुलबहादुर विश्वकर्माले सहजीकरण गरेका थिए।

कार्यक्रममा सहभागी स्थानीय कृषक तथा समुदायका प्रतिनिधिहरूले स्थानीय स्रोत, सीप र सम्भावनामा आधारित उद्यम विकासका लागि कार्यक्रम महत्वपूर्ण अवसर भएको बताएका थिए। उनीहरूले कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्रिय सहभागिता जनाउने प्रतिबद्धतासमेत व्यक्त गरे।

आयोजकका अनुसार बाँसमा आधारित उत्पादन तथा उद्यमलाई स्थानीय बजारसँग जोड्दै क्रमशः व्यावसायिक विस्तार गर्ने र सहभागी समुदायको दिगो आयआर्जनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ