डोटी । डोटीका नागरिकले इतिहासका विभिन्न कालखण्डमा आफूले मन पराएका राजनीतिक दल र उम्मेदवारलाई ठूलो आशा, भरोसा र विश्वासका साथ निर्वाचित गराउँदै आएका छन्।
निर्वाचित भएका कतिपय व्यक्तिलाई पार्टी नेतृत्वले मन्त्रीसमेत बनायो। तर, डोटीको विकासका लागि उनीहरूले देखिने गरी के काम गरे ? भन्ने प्रश्न उठेको छ।
अघिल्लाे निर्वाचनमा नेकपा एमालेबाट सिलगढी नगरपालिकाकाे मेयर पदका उम्मेदवार समेत रहेका दि.सि.न.पा.-६ थापलाका लक्ष्मण मलासीले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रश्न उठाउँदै जिल्लाको विकास निर्माणको अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।
मलासीले वर्षौंदेखि अलपत्र परेको खुटिया–दिपायल फास्ट ट्र्याक, जिल्ला अस्पतालको स्वास्थ्य सेवा, सेती नदीमा वैकल्पिक मोटरेबल पुल, स्थानीय तहमा नागरिक सहायता डेस्क तथा किसानका लागि आवश्यक सामग्रीको सहज उपलब्धतालगायतका विषयलाई प्राथमिकताका साथ उठाएका छन्।
उनका अनुसार करिब ८२ किलोमिटर दूरीको खुटिया–दिपायल फास्ट ट्र्याक १८ वर्षदेखि अलपत्र अवस्थामा छ। आवश्यक पहल र प्राथमिकता दिएको भए बढीमा पाँच वर्षभित्र सम्पन्न हुन सक्ने आयोजना लामो समयसम्म पूरा हुन नसकेको भन्दै उनले प्रश्न गरेका छन्।
त्यस्तै, डोटी जिल्ला अस्पतालमा सामान्य रूपमा हातखुट्टा भाँचिएका बिरामीको समेत सहज उपचार तथा शल्यक्रिया हुन नसक्ने अवस्था रहेको उल्लेख गर्दै मलासीले एमआरआई र सिटी स्क्यानजस्ता आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
सेती नदीमा हाल एउटा मात्रै मोटरेबल पुल रहेको र उक्त पुलमा कुनै समस्या आए वैकल्पिक व्यवस्था के हुने भन्ने विषयमा समेत राज्यको पर्याप्त ध्यान नदेखिएको उनको भनाइ छ।
मलासीले डोटीका नौवटै स्थानीय तहमा नागरिकका गुनासा तथा समस्या सुन्ने प्रभावकारी हेल्प डेस्कको आवश्यकता औंल्याउँदै प्रत्येक पालिकामा किसानका लागि आवश्यक सामग्री तथा सेवाको व्यवस्था हुनुपर्ने बताएका छन्।
यीमध्ये धेरै काम संघीय, प्रदेश र स्थानीय सरकारको आफ्नो कानुनी अधिकार तथा जिम्मेवारीभित्र पर्ने भन्दै उनले विगतमा अवसर पाएका जनप्रतिनिधि र मन्त्रीहरूले काम गर्न नसक्नुका कारणबारे समेत प्रश्न गरेका छन्।
‘के कारणले उहाँहरूले गर्न सक्नुभएन ? असहजता वा अप्ठ्यारो के थियो ?’ भन्ने प्रश्न गर्दै मलासीले फेरि पनि नागरिकले आशा र भरोसा गरिरहेको बताएका छन्।
उनले अहिले अवसर र जिम्मेवारीको अवस्था रहेको उल्लेख गर्दै ‘डाडु–पन्यु आफ्नै हातमा’ रहेको समयमा डोटीको वास्तविक आवश्यकताका आधारमा काम गर्नुपर्नेमा जोड दिएका छन्।
डोटीको विकासका लागि उपलब्ध अवसरलाई सदुपयोग गर्दै प्राथमिकताका आधारमा ठोस काम गर्नुपर्ने र ‘हिरा फोड्न’ आवश्यक रहेको मलासीको निष्कर्ष छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु