डोटी । सुदूरपश्चिम भ्रमणका क्रममा धनगढी पुगेका नेपाल सरकारका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई शनिवार भेटेर सामाजिक अभियन्ता नारद मलासीले डोटीको सिलगढीमा स्थापना हुन लागेको प्रस्तावित खप्तड इन्जिनियरिङ क्याम्पस यथासक्य छिटो सञ्चालनमा ल्याउन आवश्यक बजेट विनियोजन गर्न माग गरेका छन्।
दिपायल सिलगढी नगरपालिका–६ थाप्ला निवासी मलासीले मन्त्री पोखरेलसमक्ष क्याम्पस स्थापना भइसकेको अवस्थामा अब विद्यार्थी भर्ना र नियमित पठनपाठन सुरु गर्ने गरी आवश्यक पूर्वाधार, जनशक्ति र सञ्चालन बजेट सुनिश्चित गर्न आग्रह गरेका हुन्।
२०८० साल असार १२ गते बसेको त्रिभुवन विश्वविद्यालय सभाले डोटीमा स्थापना हुने प्रस्तावित खप्तड इन्जिनियरिङ क्याम्पसलाई स्वीकृति दिएको थियो। दिपायल सिलगढी नगरपालिका–६ थाप्लामा स्थापना गरिएको क्याम्पसले त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (IOE) बाट संस्थागत स्वीकृति प्राप्त गरिसकेको छ।
नगरपालिकाले क्याम्पसका लागि करिब १२५ रोपनी जग्गा उपलब्ध गराएको छ भने प्रारम्भिक चरणमा ४ करोड ५० लाख रुपैयाँ बजेटसमेत प्राप्त भएको छ। हाल Laboratory Building तथा क्याम्पसलाई मुख्य सडकसँग जोड्ने Access Road निर्माणको प्रक्रिया अघि बढिरहेको छ।
तर क्याम्पसको भौतिक पूर्वाधार विकास अघि बढे पनि अहिलेसम्म विद्यार्थी भर्ना तथा नियमित पठनपाठन भने सुरु हुन सकेको छैन। आवश्यक शिक्षक तथा कर्मचारी दरबन्दी, शैक्षिक पूर्वाधार, प्रयोगशाला तथा उपकरण र नियमित सञ्चालन बजेट पूर्ण रूपमा सुनिश्चित हुन बाँकी रहेको जनाइएको छ।
मलासीले अबको प्राथमिकता क्याम्पस स्थापना गर्ने नभई पहिले नै स्थापित क्याम्पसलाई समयबद्ध रूपमा सञ्चालनमा ल्याउनु हुनुपर्ने बताएका छन्।
उनले २०८४ मंसिरभित्र BE Civil Engineering र BE Computer Engineering को पहिलो ब्याच सञ्चालन गर्ने निश्चित समयसीमा तोकी कार्यान्वयन योजना बनाउन माग गरेका छन्। त्यसका लागि आवश्यक शिक्षक, प्राविधिक तथा प्रशासनिक कर्मचारीको दरबन्दी (O&M) तत्काल स्वीकृत गरी पदपूर्ति प्रक्रिया अघि बढाउनुपर्ने उनको माग छ।
त्यस्तै, आगामी आर्थिक वर्षमा निर्माण बजेटसँगै क्याम्पस सञ्चालनका लागि आवश्यक नियमित बजेट सुनिश्चित गर्न, Academic Building, Laboratory Building लगायतका पूर्वाधार समयमै निर्माण सम्पन्न गर्न तथा Civil र Computer Engineering का लागि आवश्यक आधुनिक प्रयोगशाला, उपकरण, कम्प्युटर, सफ्टवेयर, पुस्तकालय र ICT सुविधाका लागि छुट्टै बजेट व्यवस्था गर्न माग गरिएको छ।
क्याम्पसका लागि नगरपालिकाले उपलब्ध गराएको करिब १२५ रोपनी जग्गाको स्वामित्व तथा हस्तान्तरण प्रक्रिया पूर्ण रूपमा टुंग्याउन तथा क्याम्पसलाई मुख्य सडकसँग जोड्ने Access Road सहित विद्युत्, खानेपानी, इन्टरनेटलगायत आधारभूत पूर्वाधार शीघ्र निर्माण गर्नसमेत आग्रह गरिएको छ।
मलासीले क्याम्पस स्थापनादेखि हालसम्म विनियोजित बजेट, वास्तविक खर्च र भौतिक प्रगतिको एकीकृत समीक्षा गरी बाँकी काम तथा आवश्यक बजेट स्पष्ट गर्नुपर्ने बताएका छन्।
उनले खप्तड इन्जिनियरिङ क्याम्पसलाई सामान्य इन्जिनियरिङ क्याम्पसका रूपमा मात्र नभई Mountain Engineering, Hydropower, Climate-resilient Infrastructure, GIS तथा Disaster-resilient Technology अध्ययन तथा अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिएका छन्।
यसका लागि शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय/IOE, अर्थ मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहबीच समन्वय हुने गरी ‘Khaptad Engineering Campus Operationalisation Taskforce’ गठन गरी १०० दिनभित्र क्याम्पस सञ्चालनको स्पष्ट रोडम्याप सार्वजनिक गर्नसमेत मलासीले माग गरेका छन्।
डोटीमा इन्जिनियरिङ शिक्षा सञ्चालन भए स्थानीय विद्यार्थीलाई घरनजिकै प्राविधिक उच्च शिक्षा हासिल गर्ने अवसर मिल्नुका साथै सुदूरपश्चिमको प्राविधिक जनशक्ति उत्पादनमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु