काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयाेजक ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउन सत्ता प्राप्तिको राजनीतिभन्दा जनआन्दोलन र संघर्षलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै प्रचण्डले सरकार बनाउने र गिराउने विषयमै राजनीति सीमित हुँदा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बताएका हुन् ।
उनले वामपन्थी शक्तिबीचको सहकार्यलाई केवल सरकार गठनको उद्देश्यमा सीमित गर्न नहुने धारणा राखे । उनका अनुसार उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय तथा श्रमजीवी जनताका सवाललाई केन्द्रमा राखेर आन्दोलन अघि बढाउन सके मात्रै सामाजिक रूपान्तरणको आधार तयार हुन सक्छ ।
प्रचण्डले विगतमा विभिन्न वामपन्थी शक्तिहरूसँग भएको सहकार्य र एकताबाट पाठ सिक्दै नयाँ राजनीतिक यात्रा तय गर्नुपर्ने बताए । विशेषगरी नेकपा (एमाले) लगायतका दलसँग विगतमा एउटै मोर्चामा रहेर संघर्ष गरेको अनुभवलाई आगामी रणनीति निर्माणको आधार बनाउनुपर्ने उनको भनाइ थियो ।
‘सहकार्यको अर्थ सरकारमा पुग्ने बाटो मात्र होइन, आन्दोलनलाई नयाँ ऊर्जा दिने माध्यम पनि हो,’ उनले भने, ‘विगतका कमजोरीबाट सिक्दै त्यसलाई दोहोरिन नदिने गरी रणनीतिक रूपमा अघि बढ्न आवश्यक छ ।’
उनले कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि सबै वामपन्थी शक्तिबीच व्यापक सहकार्य आवश्यक रहेको बताए । जनताका वास्तविक समस्यासँग जोडिएर वर्गसंघर्ष र सामाजिक न्यायका मुद्दालाई प्राथमिकतामा राख्न सके आन्दोलनले नयाँ गति लिन सक्ने उनको भनाइ थियो ।
प्रचण्डले कार्यक्रममा सहभागी विभिन्न वामपन्थी दलका प्रतिनिधिहरूलाई सहकार्यको नयाँ यात्रामा सहभागी हुन आग्रह गर्दै कम्युनिस्ट आन्दोलनलाई पुनः जनतामाझ बलियो शक्तिका रूपमा स्थापित गर्न सामूहिक प्रयास आवश्यक रहेको बताए ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री