भोटेकोशी बाढीपीडितका लागि ६ करोड ७५ लाख निकासा

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित स्थानीय तहका लागि सरकारले ६ करोड ७५ लाख रुपैयाँ राहत रकम निकासा गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

प्राधिकरणका अनुसार क्षतिको अवस्थाका आधारमा स्थानीय तहलाई अतिप्रभावित, प्रभावित र सामान्य प्रभावित गरी वर्गीकरण गरेर रकम वितरण गरिनेछ।

रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहतका लागि सम्बन्धित स्थानीय तहका विपद् व्यवस्थापन कोषमा पठाइनेछ। त्यसपछि अर्थ मन्त्रालयले केन्द्रीय विपद् व्यवस्थापन कोषबाट खर्च भएको रकम शोधभर्ना गर्ने व्यवस्था गरिएको छ।

बाढीबाट रसुवाको उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङ्मोङ; नुवाकोटको विदुर, बेलकोटगढी, तारकेश्वर र किस्पाङ; धादिङको बेनिघाट रोराङ, गजुरी, गल्छी र सिद्धलेक; गोरखाको गण्डकी तथा तनहुँको देवघाट र आँबुखैरेनी प्रभावित भएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ