माग सम्बोधन नभए आन्दोलन सशक्त बनाउने चेतावनी

जनकपुरधाम । मुक्त हरवाचरवाको पहिचान, लगत संकलन, प्रमाणिकरण, परिचयपत्र वितरण तथा दिगो पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा जारी अनिश्चितकालीन धर्ना थप सशक्त बनाउने संघर्ष समितिले चेतावनी दिएको छ।

भदौ १० गतेदेखि मधेश प्रदेश सरकारको पुरानो मुख्यमन्त्री कार्यालयअगाडि जारी धर्नाप्रति सरकारले ठोस पहल नगरेको भन्दै समितिले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो।

समितिका संयोजक श्रीप्रसाद सदाले मुक्त हरवाचरवाको समस्या राहतको मात्र नभई पहिचान, भूमि अधिकार र सम्मानजनक जीवनसँग जोडिएको मौलिक अधिकारको विषय भएको बताउनुभयो।

माग सम्बोधन नभएसम्म धर्ना, र्‍याली, मैनबत्ती जुलुसलगायतका कार्यक्रम सञ्चालन गर्ने समितिले जनाएको छ। साथै राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी तथा अन्य सरोकारवालालाई आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ