रुपान्तरण सिकाइ कक्षाको वार्षिक समीक्षा तथा क्षमता विकास कार्यक्रम सम्पन्न

धनगढी । वर्ल्ड भिजनको सहकार्यमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) द्वारा कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सञ्चालित इन्टिग्रेटेड प्रोजेक्ट फ्रेमवर्क (IPF) परियोजनाअन्तर्गत रुपान्तरण सिकाइ कक्षाको वार्षिक समीक्षा, सिकाइ आदान–प्रदान तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ।

अत्तरियास्थित होटल जंगल स्पामा आईतबार सम्पन्न कार्यक्रममा परियोजनाअन्तर्गत सञ्चालन भइरहेका रुपान्तरण सिकाइ कक्षाको बार्षिक समीक्षा, सिकाइ आदान–प्रदान तथा बालबालिका र सरोकारवालाको क्षमता विकाससम्बन्धी विभिन्न विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय सुदूरपश्चिमका प्रमुख एसपी नवराज कार्कीले कैलाली र कञ्चनपुरमा बढ्दो क्रममा रहेको लागूऔषध दुर्व्यसन नियन्त्रण तथा न्यूनीकरणका विषयमा सचेतनामूलक प्रशिक्षण दिनुभएको थियो। उहाँले भारतसँगको खुला सीमा नाकाका कारण सीमावर्ती क्षेत्रमा लागूऔषधको जोखिम बढिरहेको भन्दै बालबालिका तथा किशोरकिशोरीलाई यसबाट जोगाउन परिवार, विद्यालय, समुदाय तथा सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको बताए ।


त्यसैगरी, इन्टिग्रेटेड प्रोजेक्ट फ्रेमवर्क परियोजनाकी मनोसामाजिक मनोविमर्श अधिकृत रुक्मणी कार्कीले बालबालिकामा देखिन सक्ने मनोसामाजिक समस्या, त्यसका कारण तथा समाधानका उपायबारे सहजीकरण गर्नुभएको थियो। उहाँले बालबालिकाको व्यवहारमा आउने परिवर्तन पहिचान गरी उनीहरूलाई आवश्यक सहयोग, परामर्श र सुरक्षित वातावरण उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा परियोजनाका बाल अधिकृत गणेश भुलले रुपान्तरण सिकाइ कक्षाका बारेमा प्रस्तुति दिनुका साथै उहाँले सिकाइ कक्षाको उद्देश्य, सञ्चालन प्रक्रिया तथा बालबालिकाको सिकाइ र विकासमा त्यसले पुर्‍याउने योगदानबारे जानकारी गराए ।

यसैगरी, समता मिडिया सेन्टरका अध्यक्ष मिलन कार्कीले सामाजिक स्रोत नक्साङ्कनका विषयमा सहजीकरण गरेका थिए । उहाँले सामाजिक स्रोत नक्साङ्कन भनेको के हो, स्थानीय तहमा उपलब्ध स्रोत तथा सेवाको पहिचान कसरी गर्ने, नक्साङ्कन कसरी तयार पार्ने र पहिचान भएका स्रोतलाई समुदायको हितमा प्रयोग गर्न पैरवी योजना कसरी निर्माण गर्ने भन्ने विषयमा सहभागीलाई जानकारी गराएका थिए ।

कार्यक्रममा रुपान्तरणका साथी शिक्षक, रुपान्तरण कक्षका बालबालिका, अभिभावक, नगरस्तरीय बाल क्लबका पदाधिकारी,परियोजनासँग आबद्ध कर्मचारी,कृष्णपुर नगरपालिकाकी महिला विकास शाखा प्रमुख चन्द्रा तिमिल्सिना र अन्य सरोकारवालाको सहभागिता रहेको थियो।

सहभागीहरूले परियोजनाअन्तर्गत भएका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा बालबालिकाको सिकाइ, संरक्षण, मनोसामाजिक सहयोग तथा समुदायको सहभागितालाई थप प्रभावकारी बनाउने विषयमा अनुभव तथा सुझाव आदान–प्रदान गरेका थिए।

कार्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकाससँगै लागूऔषध दुर्व्यसन न्यूनीकरण, मनोसामाजिक स्वास्थ्य, सिकाइ सुधार तथा समुदायमा उपलब्ध स्रोतको प्रभावकारी परिचालनका लागि सरोकारवालाबीच सहकार्य र समन्वय बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। १३ र १४ गते आयोजना गरिएको कार्यक्रमको उद्धघाटन र समापन कृष्णपुर नगरपालिका उपप्रमुख द्रोपती रानाले गरेकी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ