पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न

पोखरा । नेपाल दलित मोर्चा गण्डकी प्रदेशको एकता बैठक बिहीबार पोखरामा सम्पन्न भएको छ। बैठकले कुबिर वि.क.लाई संयोजक र टंक वि.क.लाई सहसंयोजक चयन गरेको छ।

‘नेपाली विशेषताको वैज्ञानिक समाजवादको आधार, राज्यका सबै निकायमा दलितका लागि विशेषाधिकार’ भन्ने नारासहित आयोजित बैठकमा नेपाल दलित मोर्चाका केन्द्रीय इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य गणेश वि.क.ले दलित समुदायको समग्र विकासका लागि दलित विकास प्राधिकरण गठन गर्नुपर्नेमा जोड दिए।

संविधानसभा सदस्य परशुराम रम्तेलले दलित समुदायका लागि विशेषाधिकार सुनिश्चित गर्न निरन्तर संघर्ष आवश्यक रहेको बताए।

बैठकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार, राहत र उपचारलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ। साथै बेपत्ताको खोज तथा उद्धारका लागि सबै स्रोतसाधन परिचालन गर्न र राहत वितरणमा विभेद नगर्न आग्रह गरेको छ।

बैठकले गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका दलित भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पुनःस्थापनाका लागि स्पष्ट योजना बनाउन माग गरेको छ। त्यस्तै, दलित अधिकार ऐनअनुसार जातीय विभेद तथा छुवाछुत अनुगमन र दलित सशक्तीकरणसम्बन्धी संयन्त्र गठन गर्न प्रदेश सरकारसँग माग गरिएको छ।

संघ, प्रदेश सरकार तथा विभिन्न सार्वजनिक नियुक्तिमा दलित समुदायको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने, दलितमाथि हुने जातीय विभेदका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्ने लगायतका प्रस्ताव पनि बैठकले पारित गरेको छ।

संविधान संशोधनको विषयमा सरोकारवालासँग सार्थक परामर्श गर्नुपर्ने भन्दै बैठकले आवश्यकताका आधारमा सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरेको छ। साथै दलित मुक्ति तथा सामाजिक–आर्थिक रूपान्तरणको अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ