धनगढी । भारी वर्षा, बाढी र पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुदूरपश्चिमका विभिन्न रुटमा लामो दूरीका सार्वजनिक बस सेवा रोकिएपछि यात्रुहरू समस्यामा परेका छन्।
शुक्रबारदेखि आइतबारसम्मका लागि यातायात व्यवसायीले पहाडी जिल्लासहित काठमाडौं, पोखरा लगायत पूर्वतर्फ जाने लामो दूरीका बस सञ्चालन स्थगित गरेका हुन्। सेवा रोक्ने निर्णयबारे समयमै जानकारी नपाएका कतिपय यात्रु धनगढीमा अलपत्र परेका छन्।
बस सेवा बन्द भएपछि यात्रु छोटो दूरीका सवारीसाधनमा निर्भर हुनुपरेको छ। तर कतिपय रुटमा त्यस्ता सवारी पर्याप्त नहुँदा यात्रुले थप सास्ती व्यहोर्नुपरेको बताएका छन्।
सुन्दर सुदूरपश्चिम यातायात प्रालिका कोषाध्यक्ष गोविन्द शाहका अनुसार बिहीबारदेखि रात्री बस र शुक्रबार बिहानदेखि पहाडी तथा विकट क्षेत्रतर्फ जाने लामो दूरीका बससमेत रोकिएका छन्। उनका अनुसार जोखिम कम भएका क्षेत्रमा भने मौसमको अवस्था हेरेर सेवा सञ्चालन गरिनेछ।
धनगढीबाट काठमाडौं र पोखरातर्फ जाने रात्री बस पनि तत्कालका लागि रोकिएका छन्। नियमित रूपमा धनगढी–काठमाडौं १३ र धनगढी–पोखरा दुईवटा रात्री बस सञ्चालन हुँदै आएका थिए।
व्यवसायीहरूले यात्रु र चालकको सुरक्षालाई प्राथमिकतामा राखेर सेवा रोकिएको बताएका छन्। मौसममा सुधार आएपछि मात्रै नियमित बस सेवा सञ्चालन गरिने उनीहरूको भनाइ छ।
यातायात व्यवसायीले मौसम प्रतिकूल रहेसम्म अनावश्यक लामो दूरीको यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए सम्बन्धित यातायात कम्पनीसँग सेवा सञ्चालनको अवस्था बुझेर मात्र हिँड्न यात्रुलाई आग्रह गरेका छन्।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द