स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा नेपालको प्रतिनिधित्व गरेका प्रधानमन्त्री बालेन्द्र साह न्यूयोर्कबाट स्वदेश फर्किएका छन्। महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गरेपछि उनी शुक्रबार राति दोहामार्फत काठमाडौंका लागि प्रस्थान गरेका हुन्।

राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका अधिकारीहरूले जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री साहलाई बिदाइ गरेका थिए। परराष्ट्रमन्त्री शिशिर खनालसहित नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्य भने महासभाका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन्।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री साहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका थिए। महासभा सम्बोधनका क्रममा उनले नेपालमा भएको बाढीलाई हिमाली क्षेत्रमा बढ्दो जलवायुजन्य जोखिमसँग जोड्दै अन्तर्राष्ट्रिय सहकार्य र जलवायु न्यायको विषय उठाएका थिए।

साहले नेपाल, भारत र चीनको सहकार्यमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ निर्माणको प्रस्तावसमेत अघि सारेका थिए। जोखिमयुक्त हिमतालको निगरानी, पूर्वसूचना प्रणाली तथा विपद्का समयमा सीमापार सहयोगलाई संयन्त्रमार्फत समन्वय गर्नुपर्ने उनको प्रस्ताव थियो।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री साह सेप्टेम्बर २६ मा काठमाडौं आइपुग्ने कार्यक्रम छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ