धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती

धनगढी । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उत्पादित स्याउ धनगढीमा बिक्री हुन थालेको छ। तीन किसानले करिब ५५० पेटी स्याउ धनगढी ल्याए पनि माग गरेका व्यापारी सम्पर्कमा नआएपछि किसान आफैं बिक्रीमा जुटेका हुन्।

लगातारको वर्षा र बजार व्यवस्थापनको समस्याले बिक्रीमा कठिनाइ भएको किसानले बताएका छन्। सम्बन्धित व्यापारीले पछि १३० पेटी स्याउ खरिद गरे पनि बाँकी स्याउ धनगढीका विभिन्न स्थानमा बिक्री भइरहेको छ।

हाल सकम्बरीस्थित बिक्री केन्द्र र उपमहानगरपालिका कार्यालयअगाडिको हाटबजारबाट स्याउ थोक तथा खुद्रा मूल्यमा बिक्री भइरहेको छ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न चिस्यान केन्द्र, ग्रेडिङ मेसिन र कृषि एम्बुलेन्सजस्ता पूर्वाधार आवश्यक रहेको स्थानीय व्यवसायी दानबहादुर रावलले बताए। उचित बजार र भण्डारणको अभावमा बाजुराको स्याउ बारीमै खेर जाने अवस्था रहेको उनको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ