बागलुङ पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, एक बेपत्ता

काठमाडौँ । बागलुङमा पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। विभिन्न स्थानमा पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको हो भने एक जना अझै बेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु, म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका रहेका छन्।

पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन्।

प्रहरीका अनुसार शनिबार ताराखोलामा एक जनाको मृत्यु भएको थियो। त्यसैगरी आइतबार तमानखोला गाउँपालिकामा पहिरोमा परी चार जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए।

निसीखोला गाउँपालिकामा पनि पहिरोमा परी पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

पछिल्लो घटनासँगै बागलुङमा वर्षाजन्य विपद्का कारण मृत्यु हुनेको संख्या १२ पुगेको हो।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ