हिमलुङ हिमपहिरो : ४ शव भेटिए, १२ जना अझै बेपत्ता

काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा हराइरहेकाहरूको खोजी कार्य जटिल बनेको छ। हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि भए पनि १२ जनाको अवस्था अझै अज्ञात रहेको छ।

करिब ५ हजार २०० मिटर उचाइमा रहेको हिमलुङ क्षेत्रमा आइतबार ठूलो हिमपहिरो गएको थियो। त्यसमा परेकामध्ये चार जनाको शव खोजीका क्रममा निकालिएको मनाङ प्रशासनले जनाएको छ।

मृत्यु हुनेमा वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटे रहेका छन्। आइतबार दुई तथा सोमबार थप दुई जनाको शव फेला परेको नेपाल राष्ट्रिय पर्वतीय गाइड संघले जनाएको छ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार उच्च हिमाली क्षेत्रमा हिमपहिरोको जोखिम र कठिन भौगोलिक अवस्थाका कारण थप खोजी तथा उद्धार चुनौतीपूर्ण बनेको छ।

उद्धार टोलीले हिउँमा करिब आठ फिटसम्म खनेर खोजी गरे पनि थप व्यक्ति फेला पार्न सकेको छैन। हिमपहिरोको जोखिम कायमै रहेकाले तत्काल थप खोजी अघि बढाउन कठिन भएको जनाइएको छ।

घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरेर मात्रै खोजी गर्न सम्भव नभएको प्रशासनको भनाइ छ। उच्च हिमाली क्षेत्रमा खोजीका लागि तालिमप्राप्त जनशक्ति र विशेष उपकरण आवश्यक पर्ने भएकाले सम्बन्धित उद्धार टोलीसँग समन्वय भइरहेको छ।

काठमाडौँका दुई पर्यटकीय कम्पनीमार्फत हिमलुङ क्षेत्रमा बेसक्याम्प निर्माणका लागि गएका २७ नेपाली कामदार हिमपहिरोमा परेका थिए। तीमध्ये ११ जना सुरक्षित रूपमा फर्किएका छन् भने १२ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन। मृतक चार जनाको शव भने यसअघि नै फेला परिसकेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ